काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटाउन निर्देशन दिएको छ। प्राधिकरणको नियमन शाखाले सोमबार सम्पूर्ण जीवन बीमक, निर्जीवन बीमक, लघुबीमक, पुनर्बीमक, बीमा दलाल (ब्रोकर) तथा अन्य मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो।
नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ कात्तिक २९ गते प्रचलित कानुनमा स्पष्ट व्यवस्था भएको अवस्थाबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएको हो।
अब बीमा प्राधिकरण तथा बीमा कम्पनीहरूबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा, प्रचलित कानुनले किटानी गरेको बाहेक, कागजातको आधिकारिकताका लागि हुलाक टिकट टाँस्नुपर्ने छैन। यस निर्णयले बीमा सेवा प्रवाहलाई थप सरल, छरितो र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
23
Shares