प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्मित पाँच तारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटन गरेका छन् । दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्या भएको उक्त होटलको प्रधानमन्त्री ओलीले आज उद्घाटन गरेका हुन् ।
उनले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको बताउँदै सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गरे ।
उनले भने, ‘तपाइँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ ? ट्रयाकिङ् लागि हामीले प्रविधि बनाइसकेका छौँ । तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् ।’
साझा अर्थ संवाददाता