काठमाडौं । मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को पाँच महिना (२०८२ मङ्सिरसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ ।
रेमिट्यान्स आप्रवाह नेपाली रुपियाँमा ३५.६ प्रतिशतले र अमेरिकी डलरमा २९.० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनाको विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ ।
नेपाल सरकारको खर्च रु.५६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु.४०६ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्धिदर ६.६ प्रतिशत रहेकोछ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७४ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.२६ प्रतिशत रहेको छ ।