पात्रो

रेडियो

समाचार खोजी

बीमा प्राधिकरणको निर्देशन: अब सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न सबै बीमा कम्पनी तथा सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्वीमा कम्पनी तथा बीमा दलालहरूले गर्ने सम्पूर्ण भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक वा वित्तीय संस्थामा रहेको खातामा विद्युतीय माध्यमबाटै गर्नुपर्नेछ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ अनुसार बीमालेख अन्तर्गतको दाबी भुक्तानी बीमालेखका शर्त वा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ। साथै, नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीहरू बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले उक्त निर्देशन जारी गरेको जनाएको छ।

यसअघि पनि प्राधिकरणले बीमा कम्पनीहरूलाई स्थायी, अस्थायी, करार, ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित खातामा भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिइसकेको थियो।

प्राधिकरणका अनुसार यस कदमले बीमा क्षेत्रमा पारदर्शिता, वित्तीय अनुशासन र डिजिटल कारोबारको प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ