काठमाडौँ । राष्ट्र बैङ्कले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक बृद्धि औसतभन्दा बढी हुने देखिएको छ ।
नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले तयार गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) का अनुसार यस्तो देखिएको हो ।
प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट, कर्जा तथा निक्षेपको घट्दो ब्याजदर, जलविद्युत् उत्पादनमा उल्लेख्य बृद्धि, बाह्य पर्यटकको आगमनमा बृिद्धसँगै निर्यात र रेमिट्यान्स आप्रवाहमा पनि बृिद्ध भएका कारण आर्थिक बृद्धि औसतभन्दा बढी हुने देखिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहको प्रतिवेदनमा उल्लेख छ । समिक्षा अवधिमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान प्रतिवेदनमा छ ।
अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुननिर्माण कार्य अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकिकरण गरिएको लगायतका कार्यहरुले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक बृिद्धदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक बृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।
आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
यस्तै आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ ।
गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/८२ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या १.७ प्रतिशतले बृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ । समीक्षा वर्षमा घर÷भवन नक्शा पास संख्या १.२ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व १८.६ प्रतिशतले घटेको छ ।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले बृिद्ध भएको छ । गत असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कुल निक्षेपमा बागमती प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले बृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ भने कुल वस्तु आयात १३.३ प्रतिशतले बृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड पुगेको छ ।