पात्रो

रेडियो

समाचार खोजी

आईटी क्षेत्रमा वैदेशिक लगानीको विस्तार, युवालाई ‘पखेटा फैलाउन’ आह्वान

साझा अर्थ संवाददाता १६ पुष २०८२, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा डा विश्व पौडेलले विदेशी लगानी नीति थप खुकुलो बनाएको पछिल्ला केही वर्षमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा वैदेशिक लगानी उल्लेखनीय रूपमा बढ्दै गएको बताउनुभएको छ । सरकारले गरेको नीतिगत सुधारका कारण यस क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयले कम्पनी दर्ता प्रक्रिया सरल बनाउने, वैदेशिक प्रत्यक्ष लगानी सम्बन्धी सीमामा संशोधन गर्ने तथा कर संरचनालाई विश्वसनीय बनाउनेजस्ता सुधार गरेपछि आईटी क्षेत्रमा नयाँ कम्पनीहरूको संख्या तीव्र रूपमा बढेको उहाँको भनाई छ। तथ्यांकअनुसार दुई वर्षअघि वैदेशिक लगानीमा करिब ४० वटा आईटी कम्पनी खुलेका थिए भने एक वर्षअघि यो संख्या बढेर झन्डै ४०० पुगेको छ।

नेपाल राष्ट्र बैंकले पछिल्ला नीतिगत सुधारअन्तर्गत नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिएको छ। साथै, हालसम्म निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार अमेरिकी डलरसम्म वैदेशिक लगानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गभर्नर पौडेलले यी नीतिगत सुधारहरू दीर्घकालीन प्रभाव पार्ने खालका रहेको बताउँदै भन्नुभयो, “नतिजा हेर्दै यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौं । नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा आत्मविश्वासका साथ विस्तार गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।”

वैदेशिक लगानीकर्ताहरूले कागजी प्रक्रिया धेरै भएको गुनासो गर्दै आएको सन्दर्भमा अब नाफा विदेश लैजान राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था पनि लागू गरिएको छ । यसले नेपालमा लगानी गर्ने वातावरण थप सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

२०२१ सालमै वैदेशिक लगानीमा प्रतिबन्ध लगाइएको पृष्ठभूमिमा हाल गरिएका यी सुधारहरूलाई अर्थतन्त्रका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यसै सन्दर्भमा राष्ट्र बैंकले विशेषगरी युवा उद्यमीहरूलाई नयाँ उत्पादन विकास गर्न र विश्व बजारतर्फ उन्मुख हुन आह्वान गरेको छ ।

गभर्नर पौडेलले युवालाई सम्बोधन गर्दै भन्नुभयो, “ढुक्क भएर नयाँ प्रडक्ट निकाल्नुस्, विश्व बजारतर्फ आँखा लगाउनुस् । पखेटा फैलाउनुस्, मेहनत गर्नुस्। नेपालबाटै जित्न सक्ने संसार तपाईंहरुकै अगाडि छ।”

उहाँका अनुसार बैंकिङ क्षेत्रले आईटी तथा डिजिटल उद्यमहरूको विस्तारमा आवश्यक सहकार्य र समर्थन निरन्तर रूपमा प्रदान गर्दै जानेछ।

109 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ