ललितपुर । लेखक मदनराज ताम्राकारद्वारा लिखित कृति ‘अतीतको झझल्को’ शनिबार सार्वजनिक गरिएको छ। ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले पुस्तक सार्वजनिक गर्नुभएको हो।
कृतिमा लेखकका जीवनका अनुभूति, नेपाल र विदेशका विभिन्न स्थानमा गरिएको भ्रमणका अनुभव, जागिरे जीवनका उतार–चढाव तथा संस्मरणात्मक निबन्धहरू समेटिएका छन्। पुस्तकमा आत्मकथ्यपरक रचनासँगै लेखककै जीवनसँग सम्बन्धित विविध घटना र सन्दर्भलाई साहित्यिक ढङ्गमा प्रस्तुत गरिएको छ।
नेपाल बैङ्क र एभरेष्ट बैङ्कमा लामो समय सेवा गर्नुभएका ताम्राकारले आफ्नो पेशागत यात्राका अवसर, भ्रमण तथा बसोबासका अनुभवलाई निबन्धात्मक रूपमा उतारेका छन्। ‘उषाकाल’ निबन्धमा बाल्यकाल, पारिवारिक संस्कार, मध्यमवर्गीय जीवनशैली र त्यतिबेलाको सामाजिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरिएको छ।
यसैगरी पुस्तकका अन्य निबन्धहरूमा बालमनोविज्ञान, पारिवारिक सम्बन्ध, स्वास्थ्य समस्या, विदेश यात्रा, प्राकृतिक विपद्, द्वन्द्वकालीन अनुभव र जीवनका संघर्षका प्रसङ्गहरू समेटिएका छन्।
पुस्तक सार्वजनिक समारोहमा मन्तव्य राख्दै वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले अवकाशपछिको जीवनलाई सार्थक बनाउँदै लेखकले जीवनका अनुभवलाई दस्तावेजका रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले कृति परिवार मात्र नभई समाजका लागि पनि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा वाल्मीकि क्याम्पसका उपप्राध्यापक तथा समालोचक तेजविलास अधिकारी, नेपाल पूजा प्रतिष्ठानका कोषाध्यक्ष विजयकुमार गौतम, प्राध्यापक डा. कुमार कोइराला तथा पुस्तकका प्रकाशक किर्तनराज ताम्राकारले पुस्तकको साहित्यिक र सामाजिक महत्त्वबारे धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका सभापति एवं ताम्राकार समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्राकारले पुस्तक लेखन चुनौतीपूर्ण कार्य भए पनि लेखकले गहकिलो र महत्वपूर्ण कृति प्रस्तुत गरेको बताउनुभयो।