काठमाडौं । तारागाउँ रेजेन्सी होटल लिमिटेड, नेपाल हाइड्रो डेभलपर लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडका सेयरधनीका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी चारै कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गर्दै पुस महिनामा आफ्ना–आफ्ना वार्षिक साधारणसभा आह्वान गरेका छन्। बुक क्लोजर पुस ७ गतेदेखि लागू हुने भएकाले आजसम्म सेयर कायम राख्ने सेयरधनी लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
तारागाउँ रेजेन्सी होटल लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारणसभा पुस २३ गते बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा आयोजना गर्ने भएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत नगद लाभांश (कर बाहेक) अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ। मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार २०० रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको बुक क्लोजर पुस ७ गतेदेखि पुस १८ गतेसम्म तोकिएको छ।
नेपाल हाइड्रो डेभलपर लिमिटेडले १९औँ वार्षिक साधारणसभा पुस २३ गते बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा आयोजना गर्नेछ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि कुल ९.४७ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव छ। कार्तिक २८ गते बसेको सञ्चालक समितिको ९५औँ बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी ३८ करोड ८१ लाख रुपैयाँ रहेको छ। कम्पनीको बुक क्लोजर पुस ७ गतेका लागि तोकिएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा पुस १९ गते बिहान ९ बजे पर्साको वीरगञ्जस्थित होटल विश्वामा आयोजना गर्ने भएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ। मंसिर २४ गते बसेको सञ्चालक समितिको ४०४औँ बैठकले १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी ९ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीको बुक क्लोजर पुस ७ गतेदेखि लागू हुनेछ।
महालक्ष्मी विकास बैंक लिमिटेडले २४औँ वार्षिक साधारणसभा पुस २१ गते बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गर्नेछ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि कुल १०.३७ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव छ। कार्तिक १७ गते बसेको सञ्चालक समितिको ६३५औँ बैठकले ५ प्रतिशत बोनस सेयर (२१ करोड ४८ लाख रुपैयाँ बराबर) र कर प्रयोजनका लागि ५.३७ प्रतिशत नगद लाभांश (२३ करोड ७ लाख रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको हालको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ। बैंकको बुक क्लोजर पनि पुस ७ गते तोकिएको छ।