पात्रो

रेडियो

समाचार खोजी

सम्पदाको संरक्षणदेखि सुशासनसम्मः ललितपुर महानगरको पहिचान

साझा अर्थ संवाददाता २ पुष २०८२, बुधवार

सुशीला कार्की
धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेठो स्थानीय तहको रुपमा रहेको ललितपुर महानगरपालिका स्थापनाको १०७ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सम्बद्ध सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
ललितपुर उमेरले मात्र जेठो छैन, कलात्मक सम्पदाहरुमा पनि जेठो छ । खासगरी पाटन आफैँमा नेपाली सभ्यता र सौन्दर्यको जीवित संग्रहालय हो । यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराउँछ । यहाँका पुर्खाहरुले छाडेर जानुभएका सम्पदाहरुमा श्रद्धा, साधना र संस्कृतिका सजीव अभिव्यक्ति छन् ।
यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँट, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको छ। यहाँका झ्याल, ढोका, टुँडाल, गजुर र तोरणहरुले पुर्खाको सीप र सौन्दर्यचेत बोल्दछन्। यहाँका पौभा र थांकाले देशको सिमानाभन्दा निकै परसम्म मितेरी साइनो गाँसेका छन् ।
बौद्ध र हिन्दू परम्परा यहाँ एकअर्कासँग हातेमालो गर्छन् । विहार र मन्दिरहरू केबल पूजास्थल मात्र होइनन्, शिक्षाका धरोहर पनि हुन् । त्यसैले ललितपुर एक ऐतिहासिक कालदेखि नै ज्ञान, धर्म र सहिष्णुताको केन्द्र रहँदै आएको छ ।
यी धरोहरको संरक्षण, संवर्धन र पुनर्निर्माणमा यहाँको स्थानीय सरकार र समुदायले गरेको अथक प्रयास प्रशंसनीय छ । अन्तर्राष्ट्रियस्तरमा समेत प्रसिद्ध रहेको सबैभन्दा लामो जात्राको रुपमा परिचित श्री रातो मछिन्द्रनाथको रथ जात्रा लगायत अमूर्त सम्पदा तथा कला संस्कृतिको संरक्षण ललितपुरले जसरी गरिरहेको छ, त्यो देशका अरु समुदायका लागि पनि अनुकरणीय छन् ।
यसै क्रममा ललितपुर महानगरले सम्पूर्ण नेवार समुदायमा लोकप्रिय खाद्य परिकारका नाममा मनाइने यःमरी पुन्हीलाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदामा सूचीकरण गर्न मुख्य भूमिका निर्वाह गरेको यहाँ स्मरणीय छ । र, यसलाई युनेस्कोमा समेत सूचीकरण गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
त्यसै गरी युनेस्कोले यस सहरलाई क्रिएटिभ सिटी नेटवर्कअन्तर्गत म्युजिक सिटीहरुको सूचीमा राखेको सुन्न पाउँदा थप हर्षित छु । यसरी अन्तर्राष्ट्रियस्तरमा यस महानगरलाई चिनाउन सफल भएकोमा नगर प्रमुख लगायत सम्पूर्ण संस्कृतिप्रेमी नगरवासीलाई बधाई ।
ललितपुर महानगरले मूर्त र अमूर्त सम्पदा संरक्षणका साथै विकासका नवीनतम अवयवहरुको नेपालमा सुरुवात गरी महानगरलाई व्यवस्थित र स्वच्छ बनाउन पनि प्रशंसनीय पहल गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।
ललितपुरले हरियाली प्रवद्र्धन र सहर सौन्दर्यीकरणको लागि गरेको प्रयासको परिणाम महानगर क्षेत्र प्रवेश गर्नासाथ अनुभूति हुन्छ । तसर्थ, यहाँका असल अभ्यासहरु अन्यत्रका लागि पनि अनुकरणीय छन् ।
यस महानगरपालिकाले सेवा प्रवाहमा प्रविधिलाई आत्मसात् गरी त्यसको प्रभावकारी उपयोग गर्न सकेकामा नेपाल सरकारबाट सन् २०२५ को आईसीटी अवार्ड नै प्राप्त गरेको छ ।
आजै मात्र सुरु भएको फोहरमैला वर्गीकरण सम्बन्धी व्यवस्थित कार्यले महानगरलाई स्वच्छ र सफा राख्न थप मद्दत पुग्नेछ। साथै सेवाग्राही मैत्री इ–टिकेटिङ सिस्टमले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारको अवलोकन गर्न सहज हुन्छ भन्ने विश्वास लिएकी छु ।
संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्छ । त्यो जिम्मेवारी र जवाफदेहितामा ललितपुर महानगरले आफूलाई अब्बल सावित गर्न सकेकोमा जनप्रतिनिधिसहित सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु ।
गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृ दृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तबरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो ।
म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन। शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।
अन्त्य महानगर प्रमुख चिरिबाबु महर्जन लगायत सबै जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायलाई समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि आफ्ना गतिविधि र कार्यक्रमलाई अघि बढाउने थप शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु । साथै आज सम्मानित र पुरस्कृत हुने सबै प्रतिभा र व्यक्तित्वहरुलाई बधाइ ज्ञापन गर्दछु ।
र, मलाई यस कार्यक्रममा आमन्त्रण गरी प्रमुख अतिथिका रुपमा सहभागी हुने मौका प्रदान गर्नुभएकामा महानगर परिवारप्रति आभार प्रकट गर्दछु । धन्यवाद ।

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ