
१ पुस, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायसँगको सम्झौताअनुसार काम सन्तोषजनक नभएको, समयमै सम्पन्न नगरेको तथा सम्झौता उल्लङ्घन गरेको ठहर भएपछि ती कम्पनीलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूमध्ये चिनियाँ कम्पनी Genew Technologies Co. Ltd. लाई सबैभन्दा बढी ३ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। उक्त कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा प्रविधि तथा उपकरण आपूर्तिसम्बन्धी काममा संलग्न थियो। कामको गुणस्तर र कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै नेपाल दूरसञ्चार कम्पनीले कालोसूचीका लागि सिफारिस गरेको थियो।
अन्य कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्म कालोसूचीमा राखिएको छ। ती कम्पनीहरू विभिन्न स्थानीय तह, मन्त्रालय, आयोजना तथा सरकारी कार्यालयसँग निर्माण तथा आपूर्तिसम्बन्धी काममा संलग्न थिए।
कालोसूचीमा पर्नेमा बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना, बुढानीलकण्ठ नगरपालिका, आन्तरिक मामिला तथा कानून मन्त्रालय, शहरी तथा भवन निर्माण आयोजना, गाउँपालिका तथा सडक डिभिजन कार्यालयसँग सम्झौता गरेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरू रहेका छन्।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार तोकिएको अवधिभर कालोसूचीमा रहेका कम्पनीहरूले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया, ठेक्का, परामर्श वा आपूर्तिमा भाग लिन पाउने छैनन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकाय तथा निर्माण व्यवसायीलाई सम्झौताप्रति जिम्मेवार हुन र गुणस्तरीय काम गर्न पटक–पटक आग्रह गर्दै आएको छ।