सम्पुर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु जसले मलाई यो पदमा बहाली गराउन विशेष भुमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुलाई पनि धन्यवाद जसले मलाई असफल बनाउन हर समय प्रयत्न गरिरहनु भयो । फलामलाई पिटेर स्पात बनाए झै यो महासंघलाई यहाँसम्म ल्याउने क्रममा मलाई तपाईहरुले स्पात नै बनाईदिनु भएको छ । तपाईहरु सबै सबैलाई म धन्यवाद दिन चाहान्छु ।
ठुलोबाबु श्रेष्ठ
देशैभरका करिब ११ हजार व्यवसायी तथा एक लाख ५० हजार कर्मचारी र मजदुरहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
यहाँहरुले मलाई विस्वास गरेर ग्रील तथा स्टील ब्यवसायी महासंघको अध्यक्ष जस्तो जिम्मेवार पदमा निर्वाचित गराई यो उचाई सम्म आउने वातावरण तयार गरिदिनुभयो । सम्पुर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु जसले मलाई यो पदमा बहाली गराउन विशेष भुमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुलाई पनि धन्यवाद जसले मलाई असफल बनाउन हर समय प्रयत्न गरिरहनु भयो । फलामलाई पिटेर स्पात बनाए झै यो महासंघलाई यहाँसम्म ल्याउने क्रममा मलाई तपाईहरुले स्पात नै बनाईदिनु भएको छ । तपाईहरु सबै सबैलाई म धन्यवाद दिन चाहान्छु ।
संगठन यस्तो चिज हो जसले हजारौं बर्ष देखि जगडिएर बसेको कुसंस्कार र कुरितिलाई क्षण भरमै ध्वस्त बनाई दिन सक्छ । हामी ग्रील तथा स्टील व्यवसायीहरु पनि कुनै समयमा एक कारखाना र अर्को कारखाना बिचमा बोलचाल नै नगर्ने स्थितिबाट आज सरकारी निकाय संग सहकार्य गरेर हामिलाई चाहिने सिपमुलक पाठ्यक्रमहरु कस्तो बनाउने भन्ने नीतिगत तहमा बसेर कार्यगर्न सक्षम समेत भई सकेका छौं ।
अन्तर्राष्ट्रिय ईतिहासलाई नियाल्ने हो भने निश्चित समुदाय वा बिषयलाई उठान गरि त्यसलाई परिपक्व बनाउन संघ संस्थाहरु दर्ता भएर वा नभएर संगठितरुपमा अगाडी बढेर धेरै परिवर्तन र उपलब्धिहरु हासिल गरेको देख्न सकिन्छ ।
हामिले पनि २०५० साल तिरबाट संगठित भएर ग्रील तथा स्टील व्यवसायीहरुलाई संगठित गर्दै ३० औं बर्षको यात्रा तय गर्दा सम्म धेरै उपलब्धिहरु हासिल गरेका छौं ।
ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर बैचारिक बिमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले हामिले ल्याएको परिवर्तनको चित्रण गरिरहेको छ ।
महासंघ पनि परिवर्तको लागि आम ब्यवसायीहरुको हकहित र उत्थानको लागि हामि कतिसम्म निर्मम हुने र कतिसम्म लचकहुने भन्ने कुरा समयले माग गरे बमोजिम चल्दै आएका छौं ।
नेतृत्व सफल हुने या असफलहुने भन्नेकुरामा उ संग रहेको टिमले कस्तो काम गर्छ, कति जिम्मेवारी बोध गर्छ त्यसले महत्वपुर्ण स्थान ओगटेको हुन्छ । नेतृत्वलाई स्थापित गराएर लैजान सके आफुपनि स्थापित भईन्छ र संगठनपनि बलियो हुन्छ भन्ने मान्यतालाई हामि सबैले स्विाकार गर्नुपर्ने हुन्छ ।
हामिले समयसापेक्ष रुपमा महासंघलाई अगाडी बढाउन बिधान संसोधन कार्यलाई समेत पूर्णता दिएका छौं ।
ग्रील तथा स्टील व्यवसायी महिला भेला गरेर एक समिति बनाएर अगाडी बढेका थियौं, यसले यो व्यवसायमा महिलाहरुको सहभागितालाई समेत सुनिश्चित गरिदिएकोमा निकै चर्चा चलेको छ, यसलाई हामिले एक महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छौं ।
महासंघ बलियो हुनको लागि हाम्रो संगठनमा आबद्ध भएका व्यवसायी बलियो हुन जरुरी छ । ब्यबसायीहरुको नजिकै रहेर कामगर्ने भनेको स्थानीय स्तरमा गठनहुने पालिका समिति हो, त्यसकारणले सबै पालिकासमितिहरु हाम्रो संगठनको मेरुदण्ड भएर उभिएका छन् । पालिकासमितिहरुको ब्यवस्थापन र केहि आधिकार क्षेत्रको दायरा फराकिलो बनाएर लानुपर्ने अवस्था देखिएको थियो हामिले यो अवधिमा त्यसलाई व्यवहारीक कार्यन्वयनमा जाने प्रयत्न स्वरुप संगठनलाई राज्यको संघिय संरचनामा मेल खाने गरि संगठन पुर्नगठन गर्ने प्रकृया अगाडी बढाई सकेका छौं ।
सबै पालिका समितिहरुको व्यवस्थापन गरि रहेको जिल्ला समितिहरुलाई समेत कृयाशील बनाएर महासंघलाई बलियो बनाउन सकिने कुरामा बिस्वास गर्दै नेतृत्व विकासका तालिमहरु देखि निशुल्क टिटि खोप र आँखा शिविरहरु, फुटबल प्रतियोगिता लगायतका मुल्य बृद्धिका बारेमा अन्तरकृयाहरु सन्चालन गरेको थियौं यस कार्यले व्यवसायी व्यवसायी बीचमा भावनात्मक एकता पैदाहुन सफल भएको छ ।
आम व्यवसायी, पालिकासमिति तथा जिल्ला समितिहरुबाट आएका सुझाव सल्लाह तथा रिपोर्टको आधरमा मात्र महासंघले योजना बनाएर अगाडी बढ्ने भएकोले यसै अनुरुप कार्यहरु अगाडी बढी रहेकै छन् ।
हामिले हाम्रो संगठनलाई मजबुद बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील ब्यवसायलाई उद्योगकोरुपमा बिकास गर्ने योजना बनाउनु आजको आवश्यकता थियो त्यसैले अनाधिकृत रुपमा बजार विगार्न आएका अवैधानिक मिस्त्री तथा वयवसायीको मेसिन नै कब्जा गरेर कारबाहीको दायरामा जान बाध्य भएका छौं ।
राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडीन नचाहाने अवैध ब्यवसायीहरुको हकमा भने हामि निर्मम बन्नैपर्ने अवस्था छ । यिनको कारण भएको उपभोक्ता ठगि तथा बजारको अस्थिरताको विषयमा ठोस निति बनाएर स्थानिय सरकार र स्थानिय प्रशासन संगको सहकार्यमा कारवाही प्रकृया अगाडि बढाउन सबै कृयाशिलनै बनिरहेका छन् ।
हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पुर्याउँदा पनि नेपाल सरकारले हामीलाई दर्ता गर्न आनकान गर्छ भने त्यसको कानुनि तथा व्यवहारीक उपचारको खोजि किन नगर्ने भन्दै हामिले तत्कालिन सम्माननीय प्रधानमन्त्री माननीय सभामुख, माननीय अर्थ मन्त्री माननीय उद्योग मन्त्री, माननीय श्रम मन्त्री तथा माननीय उर्जा तथा जलश्रोत मन्त्री संग भेटघाट गरि ७ बुँदै ज्ञापन पत्र समेत बुझाएका थियौं ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ज्यूको सहयोगमा यो बर्ष बाट हामिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान संगको सहकार्यमा हाम्रो व्यवसाय लाई आवश्यकपर्ने बिभिन्न तालिमहरु संचालन गर्ने सम्झौता समेत गरेका छौं । त्यसका लागि कार्यक्रमको मोडल तयार गर्न महासंघबाट तोकिएका प्रतिनिधिहरुले बिभिन्न विज्ञहरु संग परामर्श गरेर पाठ्यक्रम समेत तयार भई सकेको छ ।
सर्वप्रथम त हामिले आम व्यवसायीहरुलाई संगठनको महत्व, मिसन र भिजनको बारेमा स्प्रष्ट बनाएर एक ढिक्का बनाउन जरुरी छ । हाम्रो संगठनमा नजोडीएका ब्यवसायीहरुलाई जोड्न पहल गर्दै हाम्रो संगठनमा जोडिएकाहरुलाई ब्यवस्थित गर्न भरपुर प्रयासहरु भईरहेका छन् ।
महासंघ देखि नगर सम्मको गतिबिधिलाई आम व्यवसायहिरुको बिचमा संप्रेशण गर्न नियमित बुलेटिन प्रकाशन, वेभ साईट निमार्ण गरि नियमित अपडेट तथा सामाजिक सन्जालहरुको भरपुर प्रयोग गर्न एक आई टि टिम बनाएर योजना बनाएर लागु गर्ने प्रकृयामा गईसकेका छौं ।
संगठन बिस्तार र पुनर्गठनको क्रममा लुम्बिनी प्रदेशमा प्रदेश समिति आधिकारीक रुपमा अगाडी बढिरहेको छ भने बागमती र गण्डकी प्रदेशमा समिति गठन गर्न तदर्थ समितिको घोषणा गरिएको छ । त्यस्तै कोशी, मधेश, र कर्णाली प्रदेशहरुमा महासंघका उपाध्यक्ष ज्यूहरु संयोजक रहने गरि संगठन बनाउने तयारी भईरहेको छ ।
महासंघबाट गर्नुपर्ने बिभिन्न कामहरुलाई सहज बनाउन उपाध्यक्ष ज्यूहरुको संयोजनमा उपसमितिहरु बनाई कार्यसम्पादन गरिएको छ । सबै समितिहरुले आ–आफ्नो कार्यहरु अगाडी बढाई रहनु भएको छ । त्यसको विवरण सम्बन्धित उप समितिका संयोजक ज्यूहरुले प्रस्तुत गर्नुहुने छ ।
हामीले धेरै कामहरु गर्नुपर्ने छ । समयको पावन्दिलाई ख्याल गर्दै आफ्नो कार्यकाल सफल बनाउन सिंगो महासंघको टिम, जिल्ला समितिहरु, नगर तथा पालिका समितिहरु एक ढिक्का भएर उभिनुको विकल्प छैन ।
महासंघका मातहतमा रहेका प्रदेश समिति, जिल्ला समिति र पालिका समितिहरुलाई आवश्यक पर्ने अधिकार दिने वा कति स्वायत्त बनाउने भन्ने बिषयमा हामि महासंघको टिम गंभिर भएर सोचिरहेका छौं । खुट्टामा डोरीले बाँधेर दौडमा भागलिने किसिमको संगठन निर्माणको पक्षमा हामि छैनौ तर स्वायत्तताले निम्ताउने अराजकतालाई भने रोक्न केहि निर्मम हुनुपर्ने हाम्रो बाध्यता हो । सबैले यो कुराको ममन गर्न जरुरी छ ।महासंघमा सुचिकरण हुने व्यवस्था र तोकिएको लेबि बुझाउने कुरा लाई मातहतका सबै समितिहरुले गंभिरताको साथ लिन जरुरी छ ।
महासंघको वर्तमान कार्यसमितिलाई सफल बनाउन केहि महत्वपुर्ण बिषयमा गम्भिर भएर लाग्नुपर्ने अवस्था छ ।
खास गरि हामी स्वरोजगार व्यवसायी भएको कारण हामिलाई अहिलेको आर्थिक मन्दी र मुल्यवृद्धिले निकै प्रभाव पारिरहेको छ । भाद्र २३ र २४ को जेन्जी आन्दोलन पछिको देशमा भएको अन्योलताको कारण व्यवसायीहरु अझ मारमा परिरहेका छन् । यसको प्रभाव न्यूनिकरण गर्न महासंघले ठोस कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने हुन्छ ।
अन्य क्षेत्रगत महासंघ जस्तै हाम्रो महासंघलाई पनि सरकारसँग सहकार्य गरि कार्यक्रमहरु प्राप्त गर्न र हरेक वर्षको बजेटमा हाम्रो संगठनलाई समाहित गराएर बिभिन्न किसिमका तालिमको ब्यबस्था गरि दक्ष कामदार उत्पादनगर्न हामिले सरकारको उपल्लो निकायमा पहल गरिरहेका छौं ।
जग्गा खरिद गरेर वा लिजमै लिएर भएपनि महासंघको आफ्नै भवन बनाउनु पर्छ भनेर उपसमिति गठन गरि कार्यहरु अगाडी बढाई रहेका छौं ।
हार्डवेयर ब्यवसाय र ग्रील तथा स्टील ब्यवसायको बिचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केहि दरार पैदाभएको महशुस भएको अनुभुति भएकोले यी दुई ब्यवसाय बिचको सम्बन्ध शुमधुर बनाउन महासंघले छलफल र अन्तरकृया गर्दै अगाडी बढाउने छ । रोलिङ मिल तथा बिभिन्न कम्पनीहरु संग समेत समन्वय गर्दै जाने निति तय गरिरहेको छ ।
सहकार्य र सम्बन्ध बिस्तारको वहानामा गैरकानुनि काम गर्ने छुट कसैलाई पनि हुन्न तसर्थ गुणस्तर तथा नापतौल विभाग, आन्तरिक राजस्व विभाग, स्थानिय सरकार र स्थानिय प्रशासन संग सहकार्य गरेर बेलाबेलामा महासंघको अनुगमन टोलिले छड्के अनुगमन गर्दै गैरकानुनि कामलाई निरुत्साहित गर्न महासंघ योजनाबद्ध तरिकाले अगाडी बढीरहेको छ ।
हाम्रो व्यवसाय हरेक हिसावले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुबिधा सहितको कर्मचारी नियुक्ति, कम्पनि ऐन र नियम बमोजिम जिवनविमा, म्यादि विमा स्वास्थ्य बिमा, मुल्यमा एकरुपता र अन्य आधरभुत कुराहरु उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायीत्वलाई समेत संस्थागत गर्दै लैजाने विषयमा महासंघले संबन्धित सरकारी निकायसंगको सहकार्यमा कार्यक्रहरु बनाउने छ ।
मुल्य सुचि प्रकाशन गरि आम व्यवसायीहरुको ब्यवसायमा पु(याउने कार्य भएको छ । आम व्यवसायीहरुको लगानी रहेको सहकारी संस्था तथा हार्डवेयर र कम्पनिहरुलाई माथिउठाउन सबैले सहयोग गर्नुपर्ने अवस्था छ ।
अबको कार्यहरुमा मुख्य त महासंघको कार्यालय सन्चालन चुस्त र दुरुस्त बनाउन सबैले हातमा हात काँधमा काँध राख्नु पर्ने अवस्था छ ।
महासंघलाई अझ शसक्त बनाएर अगाडी बढाउन हामिले आन्तरिक मतभेदको अन्त्य गर्दै वर्तमान अवस्थामा बजारले खोजेको उत्पादन गर्न आम व्यवसायीहरुलाई तयार गर्नको लागि रचनात्मक सिप बिकास र प्रविधि मैत्री उद्योग स्थापनामा जोड दिन जरुरी देखिएको छ ।
यसको लागि महासंघले स्थानीय सरकार प्रदेश सरकार तथा संघिय सरकारका सरोकारवाला निकायहरुसंगको सहकार्यमा हाम्रो व्यवसायलाई वर्कशप, कारखाना र उद्योग गरि तिन वर्गमा विभाजन गरि त्यसको आवश्यक मापदण्ड निर्धारण गर्न विज्ञ टिम संग छलफल र अन्तरकृया चलाई रहेका छौं । यसको नीति बनाई कार्यन्वयन गर्न सकियो भने साना लगानी भएका वर्कशप देखि ठुला उद्योग सम्मलाई एउटै सुत्रमा बाँधेर अगाडी बढ्न सकिने कुरामा हामी विश्वस्त छौं ।
यसमा हामिले वर्तमान ऐन कानुनले तोकेको मापदण्डलाई आधार बनाएर आवश्यक क्षेत्रफल जनशक्ति तथा श्रोत साधनको आधारमा वर्गिकरण गरेर राज्यलाई उचित राजश्व बुझाउने देखि कामको गुणस्तर सम्मको ग्यारेन्टि गर्न सकिने आधारहरु तयार हुने छन् र साना देखि ठुला सम्म व्यवसायीहरुले आफ्नो क्षमता अनुसारको कामहरु पाई रहने छन् ।
नेपालभर रहेका व्यवसायीहरुको तथ्यांक संकलन गरि हरेक व्यवसायमा अनिवार्य नेपाल सरकार बाट मान्यताप्राप्त प्रमाणपत्र लिएका ईन्जिनियर, मिस्त्री, सहायक मिस्त्री वा हेल्पर राख्नु पर्ने व्यवस्था गरि तलब प्रणालीमा एकरुपता ल्याउन महासंघले आवश्यक कदम चाल्ने छ । यसले गर्दा अहिले देखिएको हेड मिस्त्री, सहायक मिस्त्री तथा हेल्परको समस्या समाधान भइ व्यवसायीहरुलाई सहज हुनुको साथै सक्षम जनशक्ति उत्पादन समेत हुनेछ ।
पछिल्लो समयमा हाम्रो व्यवसायीहरु अत्यन्तै मारमा परेको विषय भनेको बैकहरु सँगको सहकार्यको बिषय हो । महासंघले यो विषयमाथि गंभिर भएर सोचिरहेको छ । हामि त्यहि बैंक मार्फत वार्षिक करोडौं कारोबार गरिरहेका छौ तर त्यो बैकले हामिलाई सरल र सहज तरिकाबाट कर्जा प्रवाह गरेको छैन । त्यसका लागि महासंघले आफुले संचालन गरेको वर्कशप, कारखाना वा उद्योगमा भएका श्रोत साधन तथा प्रोजेक्ट धितो राखेर सहुलियत दरमा कर्जा प्रवाह गर्न विभिन्न बैंकहरुमा छलफल चलाई रहेको छ ।
त्यतिमात्र होईन कोरोना नाकाबन्दि र आर्थिक मन्दिको कारण धरासायी बनेका व्यवसायहरुलाई तत्कालको लागि ब्याज मिनाहा गरेर सावाँ बुझाउने समय समेत थप गर्न वर्तमान सरकार संग जोडदार माग गर्ने छौ ।
विभिन्न बहानामा आफु खुसी मुल्यबृदि गरिरहेका रोलिङमिल र विभिन्न कम्पनिहरुको कारण ठुला प्रोजेक्टमा काम गरिरहेका व्यवसायीहरु काम छोडेर भाग्नु पर्ने अवस्था आउने भएकोले मुल्यबृद्धिको उपर्युक्त कारण खुलाई केहि समय पछि स्टक सकिएपछि मात्र मुल्यबृद्धि हुने व्यवस्था मिलाउन र सोको सुचना तत्कालै व्यवसायीहरुमा प्रवाह गर्न रोलिङमिल, कम्पनि र हार्डवेयर हरुलाई महासंघको तर्फबाट आग्रह समेत गर्न चाहान्छौं ।
हामिले व्यवसायको वर्गिकरण गरि मापदण्ड अनुसारको स्रोत साधन सम्पन्न कम्पनि स्थापना गर्दै गर्दा सरकारको तर्फ बाट पनि सरकारी टेन्डर आह्वान गर्दा फलाम जन्य कामको टेण्डर छुट्टै निकालेर बर्षों देखि यहि पेसामा आबद्ध भएको व्यवसायीहरुलाई मात्र टेन्डर प्रकृयामा समावेश गराउने र त्यो प्रोजेक्टमा कामगर्ने कामदार सिप प्रमाणपत्र पाएको हो कि होईन भनेर नियमन गर्ने प्रकृयाको समेत थालनी गर्न सरकार संग जोडदार माग गर्नु पर्ने अवस्था आएको छ ।
साथिहरु हामिले ९ औं महाधिवेशन बाट निर्वाचित भएर यहाँसम्म आई पुग्दा करिब तीन दर्जन भन्दा माथि नियमित र दुई दर्जन जति आकस्मिक बैठकहरु बसि सकेका छौं । हरेक बैठकमा केहि न केहि नयाँ निर्णय भएका छन् । ति निर्णय कार्यन्वयन प्रकृयामा भएको प्रगति माथि हामिले समिक्षा गर्दै जिम्बेवारी सम्हालि रहनु भएका साथिहरुले नैतिक जिम्मेवारी लिनु पर्ने हुन्छ ।
यसैलाई आधार मानेर कार्यसम्पादन मुल्याङ्कन गर्दै पछिल्ला योजनाहरुमा जिम्बेवारी बाँडफाँड गर्न समेत सहज हुनेछ भन्ने अपेक्षा लिएको छु । योजना कार्यन्वयनको नितिगत र व्यवहारिक कार्यन्वयनमा देखिएका कमिकमजोरीहरुलाई सच्याउँदै अगाडी बढ्नु आजको आवश्यकता हो ।
छातिमा हात राखेर भनौं ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको योजना कार्यन्वयननमा मेरो भुमिका कस्तो रह्यो । कार्यसम्पादनमा सहजता होस् भनेर हामिले बनाएका बिभिन्न उप समिति र बिभागहरुले गरेका कार्यहरुको समेत समिक्षा गरि नयाँ ढंगबाट अगाडी बढ्न यो साधारणसभाले मार्ग प्रशस्त गरोस् भन्ने चाहान्छु ।
महासंघको नेतृत्व सफलहुनु भनेको आम ब्यवसायी तथा तपाई संगठनका सबै पदाधिकारीहरु सफल हुनु हो। यसलाई मनन गर्दै सामुहिक नेतृत्वको बिकास गर्ने तथा नेतृत्वको पुस्ता हस्तान्तरण गर्नु भन्दा अगाडी महासंघलाई नीतिगत र व्यवहारीक दुवै पाटो बाट एउटा सिस्टममा राख्न म हरदम प्रयत्नसिल रहेको छु ।
हिजो भए गरिएका कमजोरीहरुबाट माथि उठ्दै, अग्रजहरुको अनुभवहरुलाई शिक्षाको रुपमा ग्रहण गर्दै, ग्रील तथा स्टील व्यवसायी महासंघलाई उत्कृष्ट बनाउन म पदमा रहे पनि नरहे पनि मेरो शरिरमा एक थोपा रगत रहे सम्म आफ्नो क्षमताले भ्याए सम्म सके राम्रो गर्ने छु नसके यो अवस्थावाट बिग्रन नदिने प्रतिवद्धता जाहेर गर्न चाहान्छु ।
अध्यक्ष ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल