काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा आगामी मङ्सिर पहिलो साता गरिमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ ।
बैंकले “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मङ्सिर ६ गते, शनिबार गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको हो । बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ पाँच किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत पाँच किलोमिटरको हुनेछ ।
गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ ।
करिब एक हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुबै समूहको बिजेताले जनही ५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने बैंकले जनाएको छ ।
साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले ३५ हजार रुपियाँ, तृतीय स्थान हासिल गर्नेले २० हजार रुपियाँ, चौंथो स्थान हासिल गर्नेले १५ हजार रुपियाँ र पाँचाँै स्थान हासिल गर्नेले १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार रुपियाँ, तृतीय हुनेले १४ हजार रुपियाँ, चौथो हुनेले १० हजार रुपियाँ र पाचौँ हुनेले सात हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने बैंकले जनाएको छ ।
बालुवाटार, काठमाडौँस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कात्तिक २८ गतेदेखि मङ्सिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपियाँ शुल्क तिरी रजिष्टे«शन गर्न सक्ने बैंकले जनाएको छ । प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टरमा समेत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ ।