प्रारम्भिक तथ्याङ्कअनुसार २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ, आन्दोलनका क्रममा होटल तथा रिसोर्टमा २५ अर्ब बराबरको क्षति
काठमाडौँ । पछिल्ला केही दिन यता भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीले देशभरका होटल उद्योगमा क्षति पु-याउँदा २५ अर्ब भन्दा बढीको क्षति भएको छ ।
होटल संघ नेपाल (हान) ले दिएको प्रारम्भिक तथ्याङ्कअनुसार २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ । प्रारम्भिक अनुमान अनुसार आन्दोलनका क्रममा होटल तथा रिसोर्टमा २५ अर्ब बराबरको क्षति भएको हानले जनाएको छ ।
हानका काठमाडौँ र पोखराका होटलमा सबैभन्दा धेरै क्षति भएको छ । भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटलमा क्षति पुगेको छ । हानका अनुसार होटलमा भएको तोडफोड र आगजनीले क्षति हुँदा २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएका छन् । आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका होटलहरु दशैँ तिहारसहित अबको पर्यटकीय सिजनमा सञ्चालनमा आउन नसक्ने हानले जनाएको छ ।