अफ्ठ्यरा भूगोलमा विद्युत पु-याउनाले सामाजिक–आर्थिक रुपान्तरणमा ठूलो योगदान पु-याएको उल्लेख गर्दै, अब यसलाई दीर्घकालीन रुपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताउनुभएको छ ।
राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज, नेपालको आठौँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यवसायिक ढंगले अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले विशेषगरी कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा विद्युत पु-याउने कार्यलाई असाधारण उपलब्धि ठहर गर्दै समाजका गतिविधिहरूको प्रशंसा गर्नुभयो । हाल देशभर करिब दुई हजार संघ–संस्था तथा व्यक्तिहरू संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत परियोजनाबाट विद्युत उत्पादन भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
मन्त्री खड्काले अफ्ठ्यरा भूगोलमा विद्युत पु-याउनाले सामाजिक–आर्थिक रुपान्तरणमा ठूलो योगदान पु-याएको उल्लेख गर्दै, अब यसलाई दीर्घकालीन रुपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य हुने धारणा राख्नुभयो । उहाँले थप्नुभयो, “ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, त्यसैले संस्थाहरूलाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ ।”
सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पु-याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्मरण गर्दै उहाँले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको र त्यसतर्फ सरकार अक्रामक ढंगले अघि बढिरहेको जानकारी दिनुभयो ।
ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा नीतिगत सुधार भएका कारण दीगो र पारदर्शी प्रणालीतर्फ सरकार अघि बढिरहेको बताउँदै मन्त्री खड्काले सुशासन कायम गर्न सरकारले आक्रमक रूपमा काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष नारायणध्वज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र नेपालका कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । सभामा वक्ताहरूले लघु तथा साना जलविद्युत् क्षेत्रले ग्रामीण जीवनस्तरमा ल्याएको परिवर्तन र यसलाई दीगो बनाउने आवश्यकता बारे विचार व्यक्त गरेका थिए ।