सीएसआर कोषमार्फत गरिब, विपन्न तथा लक्षित वर्गको हित तथा उत्थानमा योगदान पु¥याउनुपर्नेमा जोड दिंदै मार्गदर्शनले सीएसआर कोष परिचालन गर्दा गरिबीको रेखामुनि रहेकामध्ये पनि चरम गरिबीमा जीवनयापन गरिरहेका समुदायको छनोट-पहिचान गरी त्यस्ता समुदायको हित तथा उत्थानलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सीएसआर) को रकमलाई मनोमानी ढंगले खर्च गर्न थालेपछि यसलाई कडाई गरिने भएको छ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त संस्था तथा पूर्वाधार विकास बैङ्कले गर्ने संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सीएसआर) मा नेपाल राष्ट्र बैङ्कले कडाइ गर्न लागेको हो ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१ संशोधन गर्दै सीएसआरमा शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, दीगो विकास लक्ष्य तथा अन्य क्षेत्र निर्धारण गरेको छ ।
संशोधित मार्गदर्शनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले अर्धवार्षिक अवधि सुरु हुनुअघि नै सो अर्धवार्षिकभित्र हुने सीएसआर खर्चको सूची राष्ट्र बैङ्कलाई बुझाउनुपर्ने भएको छ ।
सीएसआरमा छुट्याइएको कम्तीमा ६० प्रतिशत रकम सोही वर्षभित्र खर्च गर्नुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा १० प्रतिशत खर्च गर्नुपर्ने जस्ता यसअघिका व्यवस्थालाई निरन्तरता दिँदै खर्चका लागि प्राथमिकता प्राप्त क्षेत्रलाई पनि विस्तृत बनाइएको छ ।
संस्थाको ब्राण्ड प्रवद्र्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रमलाई सीएसआर अन्तरगत राख्न नपाइने संशोधित मार्गदर्शनमा उल्लेख छ ।
यस्तै -याली तथा विज्ञापन जस्ता कार्यमा गरिएको खर्च तथा आफ्नो स्वार्थ जोडिएका प्रभाव समूहका व्यक्ति वा आफूसँग सम्बद्ध व्यक्तिलाई परोपकारका नाममा उपहार वा चन्दा प्रदान गर्ने, पेस्ट वा कार्यक्रममा ब्राण्डिङ हुने उद्देश्यले प्रायोजन गर्ने गरी खर्च गरिने खर्च यस अन्तर्गत राख्न नपाइने व्यवस्था पनि संशोधित मार्गदर्शनमा गरिएको छ ।
ठूला विकास आयोजनामा गरिने खर्च तथा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी तथा निजी आयोजनामा गरिने खर्चलाई समेत सीएसआर खर्चमा समावेश नगरिने संशोधित मार्गदर्शनमा उल्लेख छ ।
इजाजतपत्रप्राप्त संस्थाले सहयोग गरेका सम्बन्धित संस्था-लाभग्राहीले प्राप्त गरेको रकम वा सहयोग सोही उद्देश्यमा खर्च भएको प्रमाणित विवरण प्राप्त गरी अद्यावधिक गरी राख्न संशोधित मार्गदर्शनमा भनिएको छ ।
सामाजिक तथा वाह्य वातावरण अझ स्वच्छ, समावेशी, दिगो बनाइ गरिब, विपन्न तथा लक्षित वर्गको उत्थान गर्ने कर्तव्य बैङ्क तथा वित्तीय संस्थाको समेत हुने संशोधित मार्गदर्शनमा उल्लेख छ ।
सीएसआर कोषमार्फत गरिब, विपन्न तथा लक्षित वर्गको हित तथा उत्थानमा योगदान पु¥याउनुपर्नेमा जोड दिंदै मार्गदर्शनले सीएसआर कोष परिचालन गर्दा गरिबीको रेखामुनि रहेकामध्ये पनि चरम गरिबीमा जीवनयापन गरिरहेका समुदायको छनोट-पहिचान गरी त्यस्ता समुदायको हित तथा उत्थानलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ ।
साथै मार्गदर्शनले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीका साथै लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैङ्कलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यका लागि रकम छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।