पात्रो

रेडियो

समाचार खोजी

चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

साझा अर्थ संवाददाता ८ भदौ २०८२, आइतवार
समाचार सारांश
    • समग्र आर्थिक सुधार: गत आर्थिक वर्ष २०८१/८२ मा देशको आर्थिक तथा वित्तीय सूचकहरूमा आन्तरिक र बाह्य दुवै क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ।

    • महत्त्वपूर्ण वित्तीय बचतहरू: सरकारको चालु खाता रु. ४०९.२० अर्ब र शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट्स) रु. ५९४.५४ अर्बको बचतमा रहेको छ।

    • प्रमुख क्षेत्रमा वृद्धि: आर्थिक वृद्धिदर ४.६१% रहेको अनुमान छ, जुन कृषि, उद्योग र सेवाको वृद्धिले सञ्चालित भएको हो। त्यस्तै, विद्युत्को जडित क्षमता (३,५९१ मेगावाट) र पर्यटक आगमन (११,४७,८३४ जना) मा पनि वृद्धि भएको छ।

     
     
     
     
     
     
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ:  गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो ।

    प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । 

    गत आवमा शोधनान्तर स्थिति रु पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०/८१ मा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब अर्ब ४९ करोडले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर रु नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

    गत आवमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ । कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ ।

    गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्घि भई तीन हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कूल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

    राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ ।

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ