पात्रो

रेडियो

समाचार खोजी

२० वर्षको तथ्यांक विश्लेषणले देखायो— पर्यटन प्रवर्द्धनमा सेल्स मिसनको प्रभाव ठोस

साझा अर्थ संवाददाता ६ भदौ २०८२, शुक्रवार
समाचार सारांश

त्रि.वि. व्यवस्थापन संकायबाट विद्यावारिधी उपाधि हासिल गरेका डा. सुशिल अवाले करिब चार वर्षसम्म गरेको अध्ययनमा ५०० जनासँगको सर्वेक्षण र २० वर्षको पर्यटन तथ्यांक विश्लेषणका आधारमा सेल्स मिसनले नेपालमा पर्यटक भित्र्याउन ठोस योगदान गरेको निचोड निकालिएको हो ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । बिदेशमा गरिने बिक्री प्रवर्द्धन (सेल्स मिसन) नेपालमा पर्यटक भित्र्याउन सबैभन्दा प्रभावकारी देखिएको छ । नेपाल पर्यटन बोर्ड र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागले संयुक्त रूपमा बोर्डको हलमा आयोजना गरेको ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अनुसन्धान नतिजाले यस्तो देखाएको हो ।

त्रि.वि. व्यवस्थापन संकायबाट विद्यावारिधी उपाधि हासिल गरेका डा. सुशिल अवाले करिब चार वर्षसम्म गरेको अध्ययनमा ५०० जनासँगको सर्वेक्षण र २० वर्षको पर्यटन तथ्यांक विश्लेषणका आधारमा सेल्स मिसनले नेपालमा पर्यटक भित्र्याउन ठोस योगदान गरेको निचोड निकालिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले नेपालमा पर्यटनका अथाह सम्भावना भए पनि सीमितताका कारण प्रवर्द्धनमा चुनौती रहेको बताउनुभयो । त्रि.वि. व्यवस्थापन संकायका सहायक डिन प्रा. डा. दिलिप पराजुलीले दक्ष जनशक्तिको कमी पूरा गर्न संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

अग्रज पर्यटन व्यवसायी बिजय अमात्यले हिमाल मात्र होइन, नेपालका मौलिक परम्परा र सांस्कृतिक सम्पदालाई प्रविधि प्रयोग गरेर प्रवर्द्धन गर्न सके अझ प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले यातायात र लागतका कारण नेपाल अझै सस्तो गन्तव्य बन्न नसकेको उल्लेख गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका प्रा. डा. विनोदकृष्ण श्रेष्ठले यस किसिमका छलफलले अनुसन्धानलाई प्रोत्साहन गर्ने र प्राप्त निष्कर्षले पर्यटन व्यवसाय सुदृढ बनाउन मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रमको समापनमा पर्यटन बोर्डका कार्यवाहक मार्केटिङ प्रमुख सुनिल शर्माले नेपालको प्रवर्द्धन भए पर्यटन प्रवर्द्धन स्वाभाविक हुने भन्दै सहभागीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

डा. अवाले प्रस्तुत गरेको अध्ययनमा पर्यटकको उमेर समूह, रुचि, बसाइ अवधि, खर्च गर्ने रकमसहित २४ विषयमा विश्लेषण गरिएको छ । कार्यक्रममा सहभागीहरूले राखेका प्रश्नहरूको जवाफसमेत उहाँले दिनुभएको थियो ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ