पात्रो

रेडियो

समाचार खोजी

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

साझा अर्थ संवाददाता २८ साउन २०८२, बुधवार

भोजपुर:  पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो ।    
    
 गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण गरिएको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुअब्जा दिएर यहाँका दुई वटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।    
    
 यहाँ विश्रामस्थल, बालबालिका र ज्येष्ठ नागरिकका लागि पार्क निर्माण भइरहेको छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर थप विकास तथा संरक्षण गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पोखरीको मौलिकता जोगाउँदै संरक्षण गरिएको अध्यक्ष राईको भनाइ छ ।    
    
 “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपीआर बनाइसकेका छौँ । च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ ।”    
    
 विगतमा च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीय नीरबहादुर फुयालको भनाइ छ । पोखरीकै छेउको रहेको पञ्चकन्या मन्दिरमा विभिन्न समयमा भक्तजनको जमघट हुने गरेको छ । यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ ।    रासस

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ