आधुनिक प्रविधिमैत्री , पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड
काठमाडौँः नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले बैंकिङ क्षेत्रलाई थप प्रविधि मैत्री तथा पारदर्शी बनाउनु पर्नेमा जोड दिनु भएको छ । राजधानीमा आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ कार्यक्रमलाई सम्बोध गर्ने क्रममा सो कुरामा जोड दिनु भएको हो ।
आधुनिक प्रविधिमैत्री , पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्ने बताउनुभयो ।
कार्यक्रममा इमानका अध्यक्ष रोयल आचार्यले बैंकिङ प्रणालीको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने बताउँदै सबैले आफ्ना भूमिका निष्पक्ष भएर निर्वाह गर्नुपर्ने बताउनुभयो । इमान संवादले नीति निर्माता, नियामक निकाय र सरोकार भएका निकायबीच पुलको रुपमा काम गर्ने उहाँको विश्वास थियो । कार्यक्रममा बैंकिङ प्रणालीको भविष्य, डिजिटल प्रविधि र वित्तीय सुरक्षाको बारेमा छलफल गर्नुका साथै अर्थतन्त्रका विविध पक्षका बारेमा सुझाव आदानप्रदान गरिएको इमानले जनाएको छ ।