पात्रो

रेडियो

समाचार खोजी

टिआइए सुधारमा मन्त्रालय सक्रिय, भौतिक पूर्वाधार अभावले सेवा प्रभावित

साझा अर्थ संवाददाता २२ असार २०८२, आइतवार

काठमाडौं, २२ असार — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय सक्रिय रूपमा लागेको बताएका छन्।

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजना अनुसार अगाडि बढिएको जानकारी गराए। अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्सलगायत सरोकारवालाको समावेशी सहभागितासहित महाप्रबन्धकको नेतृत्वमा सुधार समिति गठन गरिएको र सो समितिले प्रतिवेदन बुझाएपछि थप कारबाही अघि बढाइने उनले बताए।

मन्त्री पाण्डेले टिआइएको भौगोलिक सीमितता र साँघुरोपनका कारण यात्रु व्यवस्थापनमा कठिनाइ भइरहेको उल्लेख गरे। यात्रु टर्मिनल भवनमा छिटै आइपुग्ने तर लगेज लिन समय लाग्ने अवस्थाले सेवा ढिलो भएको जस्तो देखिने उनले प्रस्ट पारे।

हाल विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रु भए पनि यो वर्ष झण्डै ९५ लाख यात्रुको ओहोरदोहोर भइसकेको जानकारी दिँदै मन्त्रीले दोब्बर यात्रु व्यवस्थापनका बाबजुद सेवा सहज बनाउने प्रयास भइरहेको बताए।

त्यस्तै, मानसरोवर जान चाहने पर्यटकको भिसा प्रक्रिया सहज बनाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग समन्वय गर्ने प्रतिबद्धता पनि मन्त्रीले व्यक्त गरे।

बैठकमा ‘हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा संशोधन प्रस्तावहरूबारे छलफल भएको थियो। सांसदहरू भानुभक्त जोशी, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, रोशन कार्की, प्रेम सुवाल, एकनाथ ढकाल, शिशिर खनाल, प्रभु साह, डा. अमरेशकुमार सिंहलगायतले विधेयकलाई बलियो बनाएर देशको हवाई सेवा, सुरक्षासहित संरचनागत सुधारमा जोड दिनुपर्नेमा ध्यानाकर्षण गराए।

(रासस)

97 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता