पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओली स्पेनमा: संयुक्त राष्ट्रसंघको "विकासका लागि वित्त" सम्मेलन सुरु

विश्व नेताहरूको सहभागिता | दिगो विकास लक्ष्य र लगानी प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित

साझा अर्थ संवाददाता १६ असार २०८२, सोमवार

सेभिया, स्पेन, असार १६ गते  | संयुक्त राष्ट्रसङ्घको आयोजनामा स्पेनको सेभिया शहरस्थित फेबिस प्रदर्शनी केन्द्रमा आजदेखि ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तरसरकारी निकाय, वित्तीय संस्था, नागरिक समाजका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको छ।

सम्मेलनको उद्घाटन सत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गर्नुभएको थियो। नेपालको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल सहभागी हुनुहुन्छ।

प्रधानमन्त्री ओलीको यो भ्रमण राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजको मैत्रीपूर्ण निमन्त्रणमा भएको हो।
‘विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४)’ मा विश्वका सबै सरकार प्रमुख, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्था, व्यापारिक तथा वित्तीय निकाय, व्यवसायी, गैरसरकारी संगठन र संयुक्त राष्ट्रसङ्घ प्रणालीका सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

नेपालले सम्मेलनमा साना, टापु तथा अल्पविकसित राष्ट्रहरूको तर्फबाट आवाज उठाउँदै उनीहरूको विकास आवश्यकताबारे अन्तर्राष्ट्रिय समुदायलाई सजग गराउने उद्देश्य राखेको छ।
सम्बद्ध राष्ट्रहरूले सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्य (एसडिजी) हरूमा सहयोग र लगानी सुनिश्चित गर्नुपर्ने विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ।

सम्मेलनको मुख्य उद्देश्य विश्वभर विकासका लागि आवश्यक वित्तीय सहयोग, लगानी, प्रविधि हस्तान्तरण, र विकास सहायता सुनिश्चित गर्नु रहेको छ। यसका साथै, धनी मुलुकहरूले गरिब र साना राष्ट्रप्रति व्यक्त गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनमा जोड दिइनेछ।

विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै तत्काल तथा दीर्घकालीन विकास चुनौतीहरू समाधान गर्ने उपायहरूबारे पनि सम्मेलन केन्द्रित हुने जनाइएको छ।

 [रासस]

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता