काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको छ।
कम्पनीले सङ्खुवासभा जिल्लाका प्रभावित स्थानीयहरूलाई ३,८५,८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई १,५०,४७१ कित्ता सेयर निष्कासन गर्न सोमबार प्रस्ताव सार्वजनिक गरेको हो।
आईपीओ असार २२ गतेदेखि श्रावण ४ गतेसम्म आवेदन दिन सकिनेछ। प्रभावित स्थानीयहरूका लागि माग नपुगेमा आवेदन अवधि श्रावण १९ गतेसम्म लम्ब्याउन सकिनेछ। तर, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने श्रावण ४ गतेमै बन्द हुने व्यवस्था गरिएको छ।
कम्पनीको कुल जारी पुँजी रू. ३८ करोड ५८ लाख रहेको छ। उक्त पुँजीको ४८.९९९८ प्रतिशत अर्थात् १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता आयोजनाबाट प्रभावित स्थानीयहरूलाई छुट्याइएको हो। बाँकी ३८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता सेयर सर्वसाधारणका लागि आगामी चरणमा खुला गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ।
रेटिङ एजेन्सी आईसीआरए नेपालले माबिलुङ इनर्जी लिमिटेडलाई [ICRANP-IR] B+ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्छ।
२०७१ सालमा स्थापना भई २०७८ सालमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको माबिलुङ इनर्जी लिमिटेडले सङ्खुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको रन-अफ-रिभर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। प्रारम्भिक लागत अनुमान ९३ करोड ७० लाख रुपैयाँ तोकिएको भए पनि हाल लागत वृद्धि भइसकेको छ। हालसम्म कम्पनीको चुक्ता पुँजी १९ करोड ७० लाख रुपैयाँ रहेको छ, जुन एशियन लाइफ इन्स्योरेन्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ लगायतका संस्थागत लगानीकर्ताहरूको लगानीबाट जुटाइएको हो।
साझा अर्थ संवाददाता