पात्रो

रेडियो

समाचार खोजी

हिमालयमा बढ्दो जलवायु संकट, पर्यावरणीय प्रभाव र व्यवसायीकरणका जोखिमबारे चिन्ता

साझा अर्थ संवाददाता १८ जेठ २०८२, आइतवार

काठमाडौं । नेपालको पर्यटन, संस्कृति र हिमाली सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यसहित स्पेनको बार्सिलोनामा ‘एभरेष्ट उत्सव २०२५’ मनाइएको छ ।
नेपाली दूतावास, म्याड्रिड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे ३० मा सम्पन्न यस उत्सवले नेपाली तथा स्पेनी समुदायबीच सांस्कृतिक सेतु निर्माण मात्रै होइन, पर्वतारोहणको गौरवमय इतिहासप्रति सम्मान पनि प्रकट गरिएको छ ।
कार्यक्रममा विश्वप्रसिद्ध स्पेनी भूगर्भविद् तथा हिमाल आरोही प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेजले ‘हिमाल चढ्नु मात्र जित नभएर हिमालको बुझाइ नै सफलता भएको बताउनुभयो । सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर स्पेनी आरोहण इतिहासमा नाम लेखाएका लोपेजले नेपालसँगको पाँच दशक लामो सम्बन्धबारे पनि चर्चा गरेका छन् ।
उहाँले भन्नुभयो, ‘नेपाल केवल गन्तव्य होइन, त्यो त मेरो अध्ययनको प्रयोगशाला र आत्माको शरणस्थल हो ।’ दुई हप्ता अघि मात्र नेपाल भ्रमण सकेर स्पेन फर्किएका लोपेजले हिमालयमा बढ्दो जलवायु संकट, पर्यावरणीय प्रभाव र व्यवसायीकरणका जोखिमबारे चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा क्याटालोनियाका आरोही तथा इभरेस्ट–९३ नामक डकुमेन्ट्रीका निर्देशक जउमे अल्टाडिल क्लाउले पनि सगरमाथा क्षेत्रको संरक्षण र प्रबद्र्धनको महत्वबारे चर्चा गरेका छन् । कार्यक्रममा मेरी पुइग रेबुस्तेस र मेल बेल्भिस ई डेल रियोले पनि कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । क्याटालोना सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका प्रमुख मार्क भकारोले स्पेनी आरोहीको मनमा नेपालले विशिष्ट स्थान ओगटेको बताउनुभयो । उहाँले भन्नुभयो, ’नेपालको पर्वतारोहण इतिहास र स्पेनी समाजबीचको गहिरो सम्बन्धको छ । नेपाल स्पेनी आरोहीहरूको हृदयमा विशेष स्थान ओगटेर बसेको छ ।’
नेपालका लागि स्पेनका राजदूत शनिल नेपालले कार्यक्रमको उद्घाटन गर्दै नेपालले संसारलाई हिमाल मात्रै नभएर अध्यात्म, साहस र  आत्मीयता प्रदान गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ’नेपालको विविध सांस्कृतिक धरोहर र भावनात्मक गहिराइबारे बुझ्न एकपटक नेपाल पुग्नुपर्दछ ।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको पर्यटकीय सम्पदाबारे प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले नेपालको पदयात्रा मार्ग, सांस्कृतिक अनुभव, ग्रामिण पर्यटन, तथा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन र भीड व्यवस्थापनबारे भइरहेका प्रयासहरुबारे तथ्याङ्कसहित प्रस्तुत दिनुभएको हो ।
कार्यक्रमको एनआरएनए स्पेनद्वारा सांस्कृतिक नृत्य र हस्तकला प्रदर्शनी गरिएको थियो । विविध जातजातिबाट प्रतिनिधित्व गर्ने कलाकारहरूले परम्परागत भेषभूषासहितको नृत्य प्रस्तुत गरेका थिए । यसका साथै कार्यक्रममा धातुका मूर्तिहरू, लोककला, र काठका शिल्पहरूसहितको नेपाली हस्तकला प्रस्तुत गरिएको थियो ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता