काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म करिब ३६ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आवको वैशाखसम्म ३५ अर्ब ८६ करोड ५० लाख रुपियाँ बराबरको व्यवसाय गरेका हुन् । अहिले सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले ३५ अर्ब नौ करोड ८० लाख रुपियाँको व्यापार हिस्सा ओगटेका छन् भने चार वटा लघु निर्जीवन बीमा कम्पनीले भने ७६ करोड ६९ लाख रुपियाँको व्यापार गरेका हुन् ।
यो अवधिमा कम्पनीहरुले बीमा शुल्क संकलनलाई ८.४६ प्रतिशतले बढाएका छन् । १४ वटा ठूला निर्जीवन बीमा कम्पनीको मात्रै ६.७६ प्रतिशतले बढेको छ भने लघु निर्जीवन बीमाको बीमा शुल्क संकलन भने २.९५ प्रतिशतले बढेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
निर्जीवन बीमा कम्पनीमध्ये कुल बीमा संकलनको आधारमा शिखर इन्स्योरेन्स शिर्ष स्थानमा पुगेको छ । यस्तै १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये वैशाखरसम्म १० वटा कम्पनीको बीमा शुल्क संकलन बढेको छ भने चार वटाको घटेको छ । सबैभन्दा धेरै दी ओरियन्टल इन्स्योरेन्सको ३७.११ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको १३.११ प्रतिशतले बीमा शुल्क संकलन घटेको छ ।
शिखरले वैशाखसम्म चार अर्ब ६८ करोड १८ लाख रुपियाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । जुन गत वर्षभन्दा ३.१० प्रतिशतले बढी हो । गत वर्ष शिखरले चार अर्ब ५४ करोड रुपियाँ बराबरको मात्रै बीमा शुल्क संकलन गरेको थियो ।
शिखरसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियम, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्बमाथिको व्यापार गरेका छन् ।
शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा आएको छ । सगरमाथा लुम्बिनी चालु आवको वैशाख मसान्तसम्म चार अर्ब चार करोड १५ लाख रुपियाँ बराबरको बीमा शुल्क संकलन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.०२ प्रतिशतले बढी हो ।
तेस्रो स्थानमा आएको सिद्धार्थ प्रिमियमले तीन अर्ब ४७ करोड, चौंथोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन अर्ब आठ करोड, पाँचौमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्ब दुई करोड रुपियाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका निर्जीवन कम्पनीमध्ये १० वटाको व्यापार तीन अर्बको लाइनभन्दा तल रहेको छ । नेकोले दुई अर्ब ७० करोड, एनएलजीले दुई अर्ब ४२ करोड, दी ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब २५ करोड, सानिमा जीआईसीले दुई अर्ब नौ करोड, युनाइटड अजोडले दुई अर्ब नौ करोड, नेपाल इन्स्योरेन्सले एक अर्ब ६८ करोड, प्रभु इन्स्योरेन्सले एक अर्ब ४३ करोड, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब १६ करोड र नेशनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपियाँ बीमा शुल्क संकलन गरेका छन् ।
बीमा लेखको संख्याको आधारमा वैशाख महिनामा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले वैशाख मसान्तसम्म दुई लाख ५१ हजार ६६९ वटा बीमा लेख जारी गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा केही कम हो । वैशाखसम्म शिखर, नेको, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र युनाइटेड अजोड इन्स्योरेन्सले दुई लाख वटा भन्दा बढी बीमा लेख जारी गरेका थिए । आईजीआई प्रुडेन्सियल, एनएलजी, नेपाल, राष्ट्रिय बीमा, सानिमा र प्रभु इन्स्योरेन्सले एक लाख भन्दा बढी बीमालेख जारी गरेका थिए । दी ओरियन्ल र नेसनल इन्स्योरेन्सले भने एक लाखभन्दा कम मात्रै बीमालेख जारी गरेका थिए ।
सञ्चालनमा रहेका चार वटा निर्जीवन बीमा कम्पनीको जारी बीमा लेख र बीमा शुल्क सङ्कलन भने गत वर्षको सोही अवधिको तुलनामा झण्डै तीन गुणाले बढेको छ । चालु आवको वैशाखसम्म चार वटा निर्जीवन लघु बीमाले ७६ करोड ६९ लाख ५२ हजार रुपियाँ संकलन गरेका छन् जुन अघिल्लो वर्षको वैशाखसम्म १९ करोड ३९ लाख रुपियाँ मात्रै थियो ।
निर्जीवन लघु बीमा कम्पनीमा बीमा शुल्क संकलन र जारी बीमा लेख दुबैमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बृद्धि दर सबैभन्दा बढी देखिएको छ । गत वर्ष पाँच हजार ५९१ वटा बीमा लेख जारी गरेको ट्रस्टले चालु आवको वैशाखसम्म ६१ हजार ७७९ वटा पु-याएको छ । त्यस्तै बीमा शुल्क संकलन एक करोड ३० लाख रुपियाँ रहेकोमा चालु आवको वैशाखसम्म १७ करोड छ लाख रुपियाँ पु-याएको छ ।
चार वटा लघु बीमा कम्पनीले वैशाखसम्म तीन लाख ८ हजार ३७६ वटा बीमालेख जारी गरेका छन् जुन गत वर्ष ८५ हजार ५४५ वटा मात्रै थियो ।
साझा अर्थ संवाददाता