दोलखाः दोलखा सदरमुकाम चरिकोटमा नव वर्ष २०८२ को अवसरमा ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको छ । दोलखा चेम्बर अफ कमर्स तथा दोलखा होटल तथा पर्यटन ब्यावसायी संघको आयोजनामा सो फेस्टिभलको आयोजना गरिएको हो ।
फेस्टिभलको आइतवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पञ्चकन्यालाई स्थानीय परिकार हस्तान्तरण गरि उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तब्य ब्यक्त गर्दै मन्त्री पाण्डेले प्रकृतिक रुपमा सुन्दर दोलखामा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै पर्यटन प्रवर्धनमा फेस्टिभलको योगदान महत्व पूर्ण हुने बताउनु भयो । कार्यक्रमको उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य भरत केसी, नेपाली काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी , नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर तथा अन्य विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । फेस्टिभल मंगलवार सम्म चल्ने छ । उद्घाटन समारोह दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न जातजातिका झाँकिहरु समेत प्रदर्शन गरिएको थियो ।
फेस्टिभलमा दोलखाका विभिन्न स्थानीय परिकारहरुका साथै विभिन्न खाद्य परिकारका स्टलहरु राखिएको छ । साथै कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहेका छन् ।



साझा अर्थ संवाददाता