पात्रो

रेडियो

समाचार खोजी

जीवन बीमा कम्पनीहरुको छ महिनाको व्यापार ८१ अर्बमाथि, पुसमै १५ अर्ब नजिक

जीवन लघुबीमा कम्पनीहरुले ५१ करोड बढीको व्यवसाय

साझा अर्थ संवाददाता ९ माघ २०८१, बुधवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ कोे पहिलो छ महिनामा जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले ८१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा तथा तीन लघु बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपियाँ बीमा शुल्क संकलन गरेका हुन् ।
जसमध्ये १४ वटा जीवन बीमा कम्पनीहरुले मात्रै ८० अर्ब ६६ करोड ३८ लाख रुपियाँ बराबरको व्यापार गरेका छन् भने तीन जीवन लघुबीमा कम्पनीहरुले ५१ करोड २९ लाख ९५ हजार रुपियाँको व्यवसाय गरेका छन् ।
नियामक बीमा प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार १५ अर्ब तीन करोड १५ लाख रुपियाँले बढेको हो । गत मङ्सिरसम्म जीवन बीमा कम्पनीहरुले कुल ६६ अर्ब १४ करोड ५३ लाख रुपियाँ बीमा शुल्क संकलन गरेका थिए ।
यस्तै छ महिनामा १४ जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बीमा शुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बीमा शुल्क एक अर्ब ४३ करोड ४३ लाख तथा नवीकरणबापत ६३ अर्ब ३८ करोड ८० लाख रुपियाँ बीमा शुल्क संकलन गरेका हुन् ।
जीवन बीमाको कारोबार गर्ने तीन लघु बीमा कम्पनीहरुले २८ करोड सात लाख प्रथम बीमा शुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बीमा शुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपियाँ बीमा शुल्क संकलन गरेका छन् । लघु जीवन बीमकले छ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपियाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको छ महिनासम्मको अवधिमा बीमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफले पुससम्ममा सबैभन्दा धेरै १८ अर्ब ३६ करोड ५६ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआइसी नेपालले आठ अर्ब १२ करोड ९८ लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै, तेस्रोमा नेशनल लाइफले सात अर्ब १५ करोड ५५ लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले सात अर्ब पाँच करोड ८० लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
पुस महिनामा १५ अर्ब नजिक
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १४ अर्ब ९२ करोड २० लाख बराबरको व्यापार गरेका छन् । प्राधिकरणका अनुसार पुसमा १४ वटा जीवन बीमा कम्पनीहरुले एक खर्ब ४८ अर्ब २१ करोड रुपियाँ बीमाङ्क बराबरको चार लाख ३३ हजार २३१ वटा बीमा लेख बिक्री गरेका छन् । जीवन बीमा कम्पनीहरुले पुस महिनामा ११ अर्ब ३० करोड ६० लाख रुपियाँ बराबरको नवीकरण बीमा शुल्क आर्जन गरेका छन् ।
पुस महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६९ करोड २९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले एक अर्ब ७९ करोड ६४ लाख, तेस्रोमा नेशनल लाइफले एक अर्ब ६२ करोड १२ लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
पुस महिनामा हिमालयन लाइफले एक अर्ब ५३ करोड ९४ लाख, सूर्यज्योति लाइफले एक अर्ब छ करोड ८९ लाख, एसियन लाइफले ८५ करोड ८१ लाख, सानिमा रिलायन्स लाइफले ६४ करोड २९ लाख, सिटिजन लाइफले ७२ करोड ८१ लाख, मेट लाइफले ५३ करोड ६५ लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यसैगरी, पुस महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ६३ लाख, आइएमई लाइफले ५४ करोड ५१ लाख, रिलायबल नेपाल लाइफले ४६ करोड ३४ लाख, प्रभु महालक्ष्मी लाइफले ४८ करोड ४७ लाख, सन नेपाल लाइफले ४२ करोड ७५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा । रहेका १४ वटा जीवन बीमा कम्पनीले मङ्सिरमा मात्रै वैदेशिक रोजगार बीमाबाहेक तीन अर्ब ३७ करोड १३ लाख रुपियाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
लघुबीमाको व्यापार ५१ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीब्रता दिइरहेका छन् । पुस मसान्तसम्म कम्पनीहरुले छ लाख ६९ हजार २४४ बीमालेख जारी गरी ५१ करोड २९ लाख ९५ हजार रुपियाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले २० करोड २० लाख रुपियाँ, केष्ट माइक्रो लाइफले १८ करोड ६४ लाख रुपियाँ र लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ