लक्ष्मी सन्राइज क्यापिटलकोे १४औँ वार्षिक साधारणसभाबाट ७.७२ करोड रुपैयाँबराबरको नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न क्यापिटलको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.७२ करोड रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
गत आवमा लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल एक–आपसमा गाभिई कारोबार थालेपछि कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख कायम भएको छ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । साथै, चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।
मर्चेन्ट बैंकिङ सेवामा सक्रिय यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरूको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको जनाएको छ । हाल २० वटा कम्पनीको सेयर निष्कासनका क्रममा रहेको छ भने करिब ७० करोडभन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेकोे कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले करिब सात अर्बबराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालनसमेत गर्दै आइरहेको छ ।
साझा अर्थ संवाददाता