काठमाडौँ, १४ असार: नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्थाबमोजिम कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले हाल कायम रहेको ७० प्रतिशत संस्थापक सेयरको हिस्सालाई घटाएर ६० प्रतिशत कायम गर्ने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको हो। योसँगै बैंकको सेयर संरचना ६०:४० (६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण) को अनुपातमा रूपान्तरण हुनेछ। नेपाल स्टक एक्सचेन्जमा हाल यस बैंकको कुल ५२ लाख ५० हजार कित्ता सेयर सूचीकृत छ। नयाँ व्यवस्थापछि संस्थापक सेयर ३१ लाख ५० कित्ता र सर्वसाधारण सेयर २१ लाख कित्ता हुनेछ।
यस परिमार्जनका लागि बैंकले आफ्ना सम्पूर्ण संस्थापक सेयरधनीहरूलाई आफ्नो सेयर स्थिति (संस्थापककै रूपमा कायम राख्ने वा सर्वसाधारण समूहमा रूपान्तरण गर्ने) बारे स्पष्ट पार्न आग्रह गरेको छ। नयाँ संरचना अन्तर्गत आफ्नो सेयर संस्थापक समूहमै कायम राख्न चाहने सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनुपर्नेछ। बजारमा पछिल्लो समय नियामकहरूको नीतिगत फेरबदलका कारण वित्तीय संस्थाहरूले आफ्नो सेयर संरचना परिमार्जन गरिरहेका छन्। नेप्सेमा बैंकको पछिल्लो सेयर कारोबार प्रतिप्रतिकित्ता १ हजार ७ सय १४ रुपैयाँमा बन्द भएको थियो।