दिलसागर केसी
दोलखा, २५ जेठः निर्माणाधिन जुम खोला जलविद्युत आयोजनाको क्षमता ५६ मेगावाट बढेर ७० मेगावाट हुने भएको छ । आयोजनाको टेलरेस राख्ने देउरालीमा भिषण पहिरोका कारण ठाउँ सार्दा आयोजनाको क्षमता बढेको हो । २०८२ जेठ १८ गते र असोज २१ गते देउरालीभन्दा तल भीषण पहिरो गएको थियो । पहिरो नियन्त्रण काबु बाहिर गएपछि टेलरेस आउटलेट स्थानान्तरण गरेको हो ।
टेलरेस आउटलेट स्थानान्तरणसँगै आयोजनाको हेड र डिजाइन डिस्चार्ज बढेपछि आयोजनाको १४ मेगावाट क्षमता समेत बढेको छ । पहिरो गएपछि सानिमा जुलले प्राविधिक अध्ययन टोली खटाएको थियो । प्राविधिक टोलीकै सिफारिस अनुसार आउटलेट स्थानान्तरण र क्षमता बढाएको सानिमा जुम हाइड्रोपावर लिमिटेडका महाप्रबन्धक सकुन्द ओझाले जानकारी दिए । उनका अनुसार आउटलेट तल्लो तटीय क्षेत्रमा स्थानान्नन्तरण गर्दा ३० मिटर हेड बढेको छ । बढेको लागत बारे विश्लेषण भइरहेको समेत उनले बताए ।
पानीको डिजाइन अधिकतम् वहाव २८.६८ घनमिटर प्रतिसेकेण्ड आयोजनाले उपयोग गर्नेछ । आयोजनाको सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको उनले बताए । नेपाल–चीन सिमाबाट १.५ किलोमिटर तल्लो तटिय क्षेत्र र लप्ची खोला र जुम खोलाको दोभानबाट १.५ किमी माथिल्लो तटीय क्षेत्रमा ६८ मिटर लम्बाइ, १२ मिटर चौडाइ र ७.६२ मिटर उचाइको बाँध निर्माण हुने छ । बालुवा थिग्याउनका लागि २ वटा पोखरी समेत भुमिगत नै निर्माण हुने छ ।
त्यसबाट १ हजार ४२० मिटर लामो सुरुङ, ४५ मिटर उचाइको सर्जसाफ्ट, २५२ मिटर ठाडो पेनस्टक साफ्ट र १५६ मिटर लामो तस्रो पेनस्टक साफ्टपछि विद्युत गृहमा २३.३३ मेगावाटका ३ वटा टर्वान र जेनेरेटर मार्फत ७० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट निस्केको पानीलाई २ हजार ५६ मिटर लामो टेलरेसमार्फत पनः तामाकोसीमा पानी खसाल्ने योजना बनाएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) २०७७ असोज २७ गते वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरे तापनि क्षमता बढेका कारण परक इआइए गर्नु पर्ने भएको छ । वातावरण संरक्षण ऐन २०७६ दफा ११ को उपदफा १ अनुसार गत चैत २४ गते तत्कालीन वन तथा मन्त्रालयबाट सहमति लिएर पुरक प्रतिवेदन तयार गरेको आयोजनाले जनाएको छ । प्रतिवेदन बारे सार्वजनिक सुनुवाइ समेत गर्न लागेको छ ।
आयोजनाका लागि स्थायी रुपमा ८ हेक्टर र अस्थायी रुपमा ७.९३ हेक्टर गरी कुल १९.९३ हेक्टर जमिन उपयोग गर्ने प्रतिवेदनमा छ । आयोजनामा निजी जग्गा पर्दैन । आयोजनामा १८ प्रजातिका ७ सय ९८ वटा रुख काट्नु पर्ने अवस्था छ ।
वन क्षेत्रको क्षति पूरा गर्न गौरीशंकर संरक्षण क्षेत्रसँग समन्वय गरेर अन्य खाली क्षेत्रमा क्षति भएका एक रुख बराबर १० रुख वृक्षारोपण गरी ५ वर्षसम्म आफैंले संरक्षण गरेर हस्तान्तरण गर्ने गरी वृक्षारोपन गरी संरक्षण समेत गर्दै आएको छ । आयोजनाको वातावरणीय अध्ययन सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिको वातावरण विभागले गरेको छ । आयोजना आगामी २ वर्ष भित्र पूरा गर्ने लक्ष्य राखेको छ ।