पात्रो

रेडियो

समाचार खोजी

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

साझा अर्थ संवाददाता १४ जेठ २०८३, बिहिवार

गण्डकी, १४ जेठ : पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउने अभियान तीव्र पारेको छ। बुधबार हङकङ बजार क्षेत्रका पसलहरू खाली गराइएको छ भने बिहीबार डोजर लगाएर भवन ध्वस्त पारिने तयारी छ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका भवनहरू हटाउन महानगरले निर्देशन दिएपछि व्यवसायीहरूले हतारहतार सटर खाली गरेका हुन्। नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइने महानगरले जनाएको छ।

महानगर प्रमुख धनराज आचार्यले जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर त्यस क्षेत्रमा दुई लेनको सडक बनाइने बताए। "राजनीतिक संरक्षणको आडमा ती भवनलाई भाडामा लगाएर सीमित संस्थाले गैरकानुनी रूपमा आर्थिक आर्जन गर्दै आएका थिए", उनले भने।

महानगर र उपत्यका नगर विकास समितिले गत वैशाख पहिलो साता सूचना जारी गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएको थियो। सूचनाको म्याद सकिएपछि बिहीबार संरचना हटाउन लागिएको हो।

फेन्सी व्यवसाय गर्दै आएका रामचन्द्र पोखरेलले व्यवसायीहरूले आफैं सटर खाली गरेको बताए। “हामीले भाडा तिरेर बसेका छौं, महानगरले भवन नै हटाउने भएपछि अर्को विकल्प खोज्नुपर्ने भयो”, उनले भने।

वर्षौंदेखि व्यवसाय गर्दै आएको ठाउँ छाड्नुपर्दा व्यवसायीहरूलाई मर्का परेको पोखरेलले बताए।

यसैगरी महानगरले पोखरा बसपार्क क्षेत्रभित्रका पसल कबललगायत सबै संरचना हटाउने तयारी गरेको छ। समितिले १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैंले हटाउने र लाग्ने लागत सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाइएको छ।

बसपार्कको जग्गामा झन्डै पाँच सय परिवारले घरटहरा बनाएर बसेको महानगरले जनाएको छ। वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरी बसपार्क बनाइने प्रमुख आचार्यले बताए। उक्त क्षेत्रमा बसोबास गर्दै आएका ५७२ सुकुम्बासी तथा भूमिहीन परिवारको छानबिनका लागि समिति गठन भएको छ।

यसैगरी पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा पनि खाली गराउन थालिएको छ। आइतबारदेखि सुरु भएको उक्त अभियानअन्तर्गत फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने सबै संरचना हटाइने भएको छ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ