काठमाडौँ, १४ जेठ : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरूमा धुमधामका साथ मनाइँदै छ। इस्लामिक हिजरी संवत्को अनुसार यो पर्व आज मनाइनुपर्ने भए पनि चन्द्रमा नदेखिँदा आइतबार मनाइने भएको नेपाल जामे मस्जिदले जनाएको छ।
मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार करिब १४३९ वर्ष पहिले अल्लाहको आदेशमा पैगम्बर इब्राहिमले आफ्ना पुत्र इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ।
यस पर्वको मुख्य विशेषता जनावर कुर्बानी हो। मुस्लिम धर्मले जायज मानेका जनावर (बाख्रा, भेडा, गाई, ऊँट) कुर्बानी गरी मासु तीन भागमा बाँडिन्छ: एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग आफैंले खानुपर्छ।
यो पर्व इदुल फित्र (रमजान पर्व) को ७० दिनपछि मनाइन्छ। तीन दिनसम्म मनाइने यस पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी मस्जिदमा सामूहिक नमाज पढी एकापसमा शुभकामना आदानप्रदान गर्छन्। सरकारले यस अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
आज नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा मुस्लिम समुदायको घुइँचो लाग्दछ। यो पर्वले बलिदान, भक्ति र सामाजिक सद्भावको सन्देश दिने आयोकले जनाएको छ।




