काठमाडौँ : काठमाडौंको मुख्य सहरी क्षेत्रमा विद्युत् खपत बढाउने र आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले बालाजुदेखि सिंहदरबारसम्म भूमिगत डबल सर्किट प्रसारण लाइन निर्माणका लागि विद्युत् विकास विभागमा अनुमति आवेदन दिएको हो।
प्रस्तावित प्रसारण लाइन बालाजु सवस्टेशनबाट सुरु भई महाराजगञ्ज, राजदरबार र रत्नपार्क हुँदै सिंहदरबारसम्म पुग्नेछ। आयोजनाको कुल लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ। उक्त लाइनबाट ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्रस्तावमा उल्लेख छ।
आयोजनाअन्तर्गत महाराजगञ्ज, राजदरबार, रत्नपार्क र सिंहदरबार क्षेत्रमा सवस्टेशन निर्माण गर्ने योजना पनि समावेश छ। महाराजगञ्ज, राजदरबार र रत्नपार्कमा १३२/११ केभी क्षमताका सवस्टेशन निर्माण हुनेछन् भने सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्ने प्रस्ताव गरिएको छ।
प्राधिकरणले प्रसारण लाइन निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। भूमिगत लाइन निर्माणका क्रममा २१ वटा ज्वाइन्ट पिट्स बनाइनेछ। ती पिट्सबीचको अधिकतम दूरी पाँच सय मिटरसम्म रहनेछ। आयोजना निर्माणका लागि करिब एक दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ।
विद्युत् विकास विभागले आयोजनासम्बन्धी सुझाव तथा सल्लाह दिन सरोकारवालालाई आग्रह गरेको छ। प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ अनुसार वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी काम गर्नुपर्नेछ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, व्यापारिक भवन, आवासीय क्षेत्र र विद्युतीय उपकरणको प्रयोग बढ्दै जाँदा वितरण तथा प्रसारण प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउने आवश्यकता देखिएको छ। यस्तो अवस्थामा भूमिगत उच्च क्षमताको प्रसारण लाइनले विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
भूमिगत प्रसारण प्रणाली विस्तारले सडकमा देखिने तार र पोलको चाप घटाउने, सहरी सौन्दर्य सुधार्ने र विद्युत् पूर्वाधारलाई सुरक्षित बनाउने उद्देश्य पनि राखिएको छ। तर, यसअघि काठमाडौं, ललितपुर, पोखरा र भरतपुरलगायत क्षेत्रमा अघि बढेका भूमिगत लाइन आयोजनामा ढिलाइ देखिएकाले नयाँ आयोजनाको समयमै कार्यान्वयन प्राधिकरणका लागि मुख्य चुनौती बन्न सक्छ।