पात्रो

रेडियो

समाचार खोजी

श्रीलङ्कामा अब नेपालीले क्यूआरबाटै भुक्तानी गर्न सक्ने

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार
समाचार सारांश
  • नेपाल र श्रीलङ्काबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु भएको छ।
  • यसबाट नेपालीले अब श्रीलङ्काका ४ लाखभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्।
  • यो सेवाले नगद बोक्नुपर्ने वा मुद्रा सटही गर्नुपर्ने झन्झट कम गरी छिटो र सुरक्षित भुक्तानी सुविधा दिनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : श्रीलङ्का भ्रमणमा जाने नेपालीले अब त्यहाँ क्यूआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल र श्रीलङ्काबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु भएसँगै नेपाली पर्यटक तथा व्यवसायीलाई नगद बोकेर हिँड्नुपर्ने वा पटक–पटक मुद्रा सटही गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

यो सेवा श्रीलङ्काको कोलम्बोमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलङ्का, नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल र लङ्कापेका प्रतिनिधिहरूको उपस्थितिमा सुरु गरिएको हो।

पहिलो चरणमा लक्ष्मी सनराइज बैंक जारीकर्ता बैंकका रूपमा सहभागी भएको छ। बैंकले जारी गरेका डलर कार्ड वा सम्बन्धित भुक्तानी उपकरणलाई कनेक्ट आइपिएस एपमा लिंक गरी श्रीलङ्कामा रहेका लङ्का क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सकिनेछ।

यस सेवामार्फत नेपाली प्रयोगकर्ताले श्रीलङ्काका ४ लाखभन्दा बढी लङ्का क्यूआर मर्चेन्टहरूमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ।

एनसीएचएल र लङ्कापेको प्रणाली जोडिएसँगै दुवै देशको राष्ट्रिय भुक्तानी पूर्वाधारबीच अन्तरआवद्धता विस्तार भएको हो। यस प्रणालीमार्फत क्यूआर भुक्तानी वास्तविक समयमा हुने भएकाले कारोबार छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ।

आगामी चरणमा नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपहरूलाई पनि यस प्रणालीमा जोड्ने योजना रहेको छ। यसले दक्षिण एसियाली मुलुकबीच डिजिटल भुक्तानी प्रणाली जोड्ने अभ्यासलाई थप गति दिने अपेक्षा गरिएको छ।

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु