काठमाडौँ : कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जेठ ८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीको आइपिओमा छिटोमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि जेठ २२ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कालंगा हाइड्रोको जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको हो। त्यसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित बझाङ जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।
त्यस्तै, सार्वजनिक निष्कासनतर्फकै ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बाँडफाँट भइसकेको छ। कम्पनीका कर्मचारीका लागि १ लाख ५ हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको छ। यी सबै छुट्याएपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर अब सर्वसाधारणका लागि खुल्न लागेको हो।
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
रेटिङतर्फ, केयर रेटिङ्स नेपाल लिमिटेडले कालंगा हाइड्रोको इस्युअर रेटिङ ‘CARE-NP BB (Is)’ मा स्तरोन्नति गरेको छ। यसअघि कम्पनीको रेटिङ ‘CARE-NP BB- (Is)’ रहेको थियो। यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कालंगा हाइड्रो लिमिटेडले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगा गाड जलविद्युत् आयोजना निर्माण गरेको छ। कम्पनी सन् २००७ डिसेम्बर २० मा निजी कम्पनीका रूपमा स्थापना भएको थियो भने सन् २०२१ जुलाई १४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो।