ललितपुर, ६ वैशाख : ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७५औँ जन्मदिनका अवसरमा नागरिक अभिनन्दन गर्ने भएको छ। पाटन दरबार क्षेत्रमा परम्परागत बाजागाजासहित उहाँलाई स्वागत गरिने वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो।
नेवारी परम्पराअनुसार जन्मदिनको सगुन दिई ‘ललितरत्न’ उपाधिसहित सम्मानपत्र प्रदान गरिनेछ। कार्यक्रममा २० भन्दा बढी सङ्घसंस्थाको सहभागिता रहनेछ। साँझ ५ बजे पाटन दरबारमा स्वागत गरी कात्तिक डबलीमा सम्मान समारोह हुनेछ। त्यहाँ लोकप्रिय गायक–गायिकाले श्रेष्ठका गीत प्रस्तुत गर्नेछन्।
यसअघि समितिले मोहनप्रसाद जोशी र रत्न बेहोसीलाई पनि ‘ललितरत्न’ उपाधि प्रदान गरिसकेको छ। बिहान ९ बजेदेखि महारानी पोखरी परिसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिने संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो।