रसुवा, ३ वैशाखः हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ ।
चाँैरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो ।
चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चाँैरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।”
वडाध्यक्ष तामाङका गतलाङ क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी रहेका छन् । महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसारसँगै परम्परागत उपचार विश्वासअनुसार चौँरीको रगत सेवनको व्यवस्थासमेत मिलाइने जनाइएको छ ।