पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ फर्मास्युटिकल्सको आईपीओ आउँदै

१० लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी, माघ २७ मा सम्झौता सम्पन्न

साझा अर्थ संवाददाता २९ माघ २०८२, बिहिवार

काठमाडौँ।
सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै पक्षबीच माघ २७, २०८२ मा काठमाडौँमा औपचारिक सम्झौता सम्पन्न भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको जनाएको छ। प्रस्तावित आईपीओ निष्कासनपछि कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आफ्नो स्वामित्वमा सहभागी गराउनेछ।

सन् १९८७ मा स्थापना भई सन् १९९० देखि उत्पादन सुरु गरेको सिद्धार्थ फर्मास्युटिकल्स नेपालका औषधि उद्योगमध्ये एक पुरानो कम्पनी हो। कम्पनीले गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ औषधि उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

रुपन्देहीको तिलोत्तमा–१५ मा रहेको कम्पनीको आधुनिक उत्पादन केन्द्र विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (WHO-GMP) मापदण्डअनुसार निर्माण गरिएको छ। उक्त उद्योग अत्याधुनिक तथा विश्वस्तरीय प्रविधिबाट सुसज्जित रहेको कम्पनीले जनाएको छ, जसले उच्च गुणस्तरका औषधिजन्य उत्पादन सुनिश्चित गर्ने बताइएको छ।

कम्पनीले नियामकीय स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गरेपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ