पात्रो

रेडियो

समाचार खोजी

निष्क्रिय कर्जा स्तरोन्नति अवधि घटाइयो, तीन महिनामै असल वर्गमा ल्याउन पाइने

साझा अर्थ संवाददाता ३ माघ २०८२, शनिवार

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि घटाइएको छ। अब निष्क्रिय कर्जामा वर्गीकृत कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित भएपछि तीन महिनापछि नै त्यस्तो कर्जा असल वर्गमा स्तरोन्नति गर्न पाइने भएको छ।

यसअघि भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भएपछि कर्जालाई छ महिनासम्म सूक्ष्म निगरानीमा राख्नुपर्ने र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति गर्न पाइने व्यवस्था थियो। उक्त व्यवस्थालाई हटाउँदै नेपाल राष्ट्र बैङ्कले शुक्रबार बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो।

नयाँ निर्देशनअनुसार कमसल, शंकास्पद तथा खराब कर्जामा वर्गीकृत कर्जालाई भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित असुली भएको मितिदेखि तीन महिनासम्म सोही वर्गमै राखी सोहीअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। तीन महिनाको अवधि पूरा भएपछि मात्रै त्यस्तो कर्जा स्तरोन्नति हुने राष्ट्र बैङ्कले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैङ्कहरूले काउन्टर साइक्लिकल बफर बापत कायम गर्नुपर्ने कर्जा नोक्सानीको दर शून्य प्रतिशत रहने व्यवस्था पनि निर्देशनमा उल्लेख गरिएको छ।

लघुवित्त वित्तीय संस्थाका लागि छुट्टै निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले कोषको रकम दैवीप्रकोप वा दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकहरूको शिक्षा तथा क्षमता विकास, साथै ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य र पोषणसम्बन्धी कार्यक्रममा मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्तै, सर्वसाधारणबाट निक्षेप परिचालन नगर्ने लघुवित्त वित्तीय संस्थाले अघिल्लो महिनाको कुल बचत दायित्वको २.५ प्रतिशत बराबरको तरल सम्पत्ति अनिवार्य रूपमा कायम गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ।

85 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ