काठमाडौँ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादनको समीक्षा गर्दै ६६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा बैंकका वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित भएसँगै संस्थागत उत्तरदायित्व र वार्षिक प्रक्रिया औपचारिक रूपमा पूरा भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरेको छ ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकसम्बन्धी व्यवस्था टुंगो लगाउँदै महालेखा परीक्षकको कार्यालयसँग परामर्शपछि लेखा परीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई सुम्पेको छ । यसले समयमै लेखा परीक्षण प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधासम्बन्धी प्रावधानमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ । नियमनकारी निकायको सुझावअनुसार संशोधन आवश्यक परेमा सोही अनुरूप कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएको बैंकका प्रवक्ता प्रतिभा डङ्गोलले जानकारी दिनुभयो ।
६६औँ वार्षिक साधारण सभा सम्पन्न भएसँगै नेपाल बैंकले आगामी आर्थिक वर्षका कार्यक्रम तथा नीतिगत निर्णय कार्यान्वयनतर्फ प्रवेश गरेको जनाएको छ ।