काठमाडौँ । बैंकिङ प्रणालीमा कर्जा माग कमजोर रहँदा वाणिज्य बैंकहरूमा तरलता झन् थुप्रिँदै गएको छ, जसको प्रत्यक्ष असर निक्षेप ब्याजदरमा देखिएको छ । माघ महिनाका लागि २० मध्ये ११ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
माघ १ गतेदेखि लागू हुने ब्याजदर सूचीअनुसार सात बैंकले दर यथावत् राखेका छन् भने प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएको छ । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेकामा माघमा घटेर ४.६८ प्रतिशतमा सीमित भएको छ, जुन औसतमा ०.१५ प्रतिशत विन्दुको गिरावट हो ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा उच्च ब्याजदर ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत तोकेको छ भने सबैभन्दा न्यून ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत निर्धारण गरेको छ ।
ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक रहेका छन् । यस्तै, नेपाल बैंक, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । प्राइम कमर्सियल बैंकले भने ब्याजदर ४.२५ प्रतिशतबाट बढाएर ४.४ प्रतिशत पुर्याएको छ ।
कर्जा प्रवाह कमजोर रहँदा हाल बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा माग नबढेपछि वाणिज्य बैंकहरूले अतिरिक्त रकम २.६७ देखि तीन प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा तथा अन्य मौद्रिक उपकरणमार्फत राखिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले एक वर्षे ऋणपत्र, स्थायी निक्षेप सुविधा लगायतका मौद्रिक उपकरण प्रयोग गरी प्रणालीबाट तरलता खिच्दै आएको छ । हालसम्म यसरी राष्ट्र बैंकमा राखिएको रकम करिब नौ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल बैंक तथा वित्तीय संस्थामा ७६ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा लगानी ५७ खर्ब २८ अर्ब रुपैयाँमा सीमित रहेको छ ।