पात्रो

रेडियो

समाचार खोजी

अधिक तरलताबीच लगानी विस्तारमा नागरिक लगानी कोषको जोड

साझा अर्थ संवाददाता २ माघ २०८२, शुक्रवार

काठमाडौँ । नागरिक लगानी कोषले अधिक तरलताको अवस्थाबीच लगानी विस्तार र विविधीकरणलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने रणनीति अघि सारेको छ । कोषको ३१औँ वार्षिक साधारण सभामा बोल्दै पदाधिकारीहरूले मौज्दात रकमको प्रभावकारी परिचालन हालको प्रमुख चुनौती रहेको बताएका छन् ।

सभामा प्रस्तुत विवरणअनुसार कोषको खुद कोष मौज्दात आव २०८२/८३ को असोज मसान्तसम्म दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । उच्च तरलताका कारण उपलब्ध स्रोत पूर्ण रूपमा परिचालन गर्न कठिनाइ भइरहेको कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जानकारी दिनुभयो ।

कोषले लगानी विविधीकरणका लागि नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको तथा जलविद्युत् लगायत पूर्वाधारसम्बन्धी परियोजनामा लगानी विस्तार गर्ने तयारी गरेको जनाएको छ । साथै, उत्पादनशील क्षेत्रमा कर्जा विस्तारका लागि आवश्यक गृहकार्य भइरहेको पनि सभामा जानकारी गराइएको थियो ।

यसैबीच, सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले आगामी दिनमा स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नागरिकलाई लक्षित गरी नागरिक पेन्सन योजनाको दायरा विस्तार गरिने बताउनुभयो । बचत सङ्कलनलाई थप व्यापक बनाउँदै सरकारी प्राथमिकताका परियोजनामा लगानी बढाउने नीति कोषले अवलम्बन गर्ने उहाँको भनाइ छ ।

साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे सञ्चालक समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ