काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र राष्ट्रिय आविष्कार केन्द्रले कृषि क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र व्यवसायिकरणका लागि साझेदारी गर्ने भएका छन् ।
मुक्तिनाथ कृषि कम्पनी र राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिले कृषि क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र व्यवसायिकरण गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको किर्तिपुरमा अवस्थित नवप्रवर्तन केन्द्रमा समझदारीपत्र मा हस्ताक्षर गरेका छन् ।
सहकार्यको मुख्य उद्देश्य, राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गत वीरगञ्ज कृषि औजार कारखानामा विकास र उत्पादन हुने कृषि उपकरण तथा प्रविधिहरूको व्यावसायीकरणका लागि मुक्तिनाथ कृषि कम्पनी र यसका सहायक कम्पनीहरु मार्फत बजार सुनिश्चिता गर्नु हो ।
कृषि कम्पनीले देशैभर कृषि वस्तु तथा सेवाहरुको पहुँच स्थापित गरिरहेको सन्दर्भमा बजार माग अनुसार नवप्रवर्तन र उत्पादनको लागि आविष्कार केन्द्रलाई उत्पादन योजना दिई सोहि अनुसार उत्पादन हुने सम्झौता पत्रमा उल्लेख छ ।
साथै, आपसी सहकार्यमा अनुसन्धान, नयाँ प्रविधिहरु विकास, प्रविधि हस्तान्तरण, परामर्श सेवा, परियोजना विकास र कार्यान्वयन जस्ता विषयहरूमा पनि सहकार्य हुने बताइएको छ । यसरी नवीन प्रविधि र बजारको माग, पारिस्थिति र पृष्ठपोषणको आधारमा किसानलाई आवश्यक प्रविधि हस्तान्तरण गरि नेपालीको कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न यो सहकार्य केन्द्रित हुनेछ ।
मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले, “यो सहकार्यले कम्पनीको राष्ट्रव्यापी बजार पहुँच र बीरगञ्ज कृषि औजार कम्पनीका उत्पादनहरूको बीच सीधा सम्पर्क स्थापना हुन गई नेपालका हजारौ किसानहरूसम्म गुणस्तरीय र विश्वसनीय कृषि प्रविधि पुर्याउन ठूलो योगदान दिने बताउनुभयो ।”
त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक संजय झाले “केन्द्रले विकास गरेका प्रविधिहरूले गुणत्मक परिर्वन ल्याउन सम्भव भएकोले ती प्रविधिहरु किसानको हातसम्म पुग्नु जरुरी रहेको महशुस भई यो साझेदारी गरिएको बताउनुभयो ।”
यस साझेदारीले नवप्रवर्तन र विरगञ्ज कृषि औजार कारखानाद्वारा विकास गरिएका कृषि औजार र उपकरणको पहुँच विस्तार गर्दै व्यावसायीकरणको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।