पात्रो

रेडियो

समाचार खोजी

होटेल फरेस्ट इन लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ माघ ४ देखि खुल्ने

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

२०८२ पुस २४, काठमाडौं | होटेल फरेस्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आवेदन खुलाउने भएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ माघ ४ गतेदेखि माघ ८ गतेसम्म खुला रहनेछ। तोकिएको अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १८ गतेसम्म लम्ब्याइनेछ।

कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। सो सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ। यस वर्गका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइसी एसिया क्यापिटल लिमिटेडलाई दिइएको छ। यस्तै, केयर रेटिङ्स नेपाल लिमिटेडले होटल फरेस्ट इन प्रालिको दीर्घकालीन बैंक ऋण सुविधालाई ‘केयर–एनपी बीबी–’ रेटिङ प्रदान गरेको छ।

होटेल फरेस्ट इन प्रालि सन् २०१० नोभेम्बर २२ मा दर्ता भएको कम्पनी हो। कम्पनीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा १ लाख ४२ हजार ७८३ वर्गफुट क्षेत्रफलमा फैलिएको जग्गामा १०२ कोठा क्षमताको होटल निर्माण गरिरहेको छ, जसलाई पाँचतारे स्तरको होटलका रूपमा विकास गर्ने योजना रहेको छ। कम्पनीले अमेरिकी होटल चेन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) सँग ‘होलिडे इन’ ब्रान्ड प्रयोगसम्बन्धी लाइसेन्स सम्झौता पनि गरिसकेको छ।

 

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ