२३ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको औद्योगिक र व्यवसायिक वातावरण सुदृढ गर्न नीतिगत सहयोग आवश्यक रहेको बताएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग महासंघ भवन, काठमाडौंमा भएको भेटमा महासंघका अध्यक्ष कमलेशकुमार अग्रवालले उद्योगी र व्यवसायीको सुरक्षाको सुनिश्चितता, घरेलु लगानी प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट आउने वैदेशिक मुद्रालाई उत्पादनमुखी क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार नेपालका उद्योगहरूको औसत उत्पादन क्षमता utilization अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४८.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष २०८१/८२ मा घटेर ४४.५ प्रतिशतमा सीमित भएको छ। अग्रवालले नीतिगत स्थायित्व, निर्यात प्रोत्साहन र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरे। मन्त्री सिन्हाले सरकार प्रशासनिक प्रक्रिया सरलीकरण, घरेलु लगानीको संरक्षण, निर्यात सहजता र अनुकूल औद्योगिक वातावरण सिर्जनाको दिशामा काम गरिरहेको आश्वासन दिए।