काठमाडौं । एनआईसी एशिया बैङ्कले ‘एनआईसी एशिया सेयर लोन’ सार्वजनिक गरेको छ । बैङ्कले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने उक्त कर्जाको योजना सार्वजनिक गरेको हो । ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैङ्कले अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा सेयर कर्जा योजना सार्वजनिक गरेको हो ।
योजना अन्तरगत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपियाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपियाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था गरेको बैङ्कले जनाएको छ ।
प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको सुविधाले भरिपूर्ण कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति रहेको बैङ्कले जनाएको छ ।
साथै ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको बैङ्कले जनाएको छ ।