पात्रो

रेडियो

समाचार खोजी

बीमा प्रक्रियामा पारदर्शिता र विश्वास बढाउन सरोकारवालाको जोड

निर्माण व्यवसायी र बीमा कम्पनीबीच बीमालेख नवीकरण र दाबी प्रक्रियामा स्पष्टता माग

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार
समाचार सारांश

बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने, बीमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने र बीमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीका बारेमा अनलाइनका माध्यमबाट बीमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने तथा डीएलपी र एक्सेस सम्बन्धी विषय समेत उनीहरुले उठाएका थिए ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । बीमा कम्पनीहरूले बीमा सर्भेयरले प्रतिवेदन बुृझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बीमा गराउँदा बीमालेखका सबै प्रावधानका बारेमा स्पष्ट जानकारी गराउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल बीमा प्राधिकरणद्वारा बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफलका सहभागीहरुले यस्तो बताएका हुन् ।
बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने, बीमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने र बीमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीका बारेमा अनलाइनका माध्यमबाट बीमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने तथा डीएलपी र एक्सेस सम्बन्धी विषय समेत उनीहरुले उठाएका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले बीमा गरेपछि सुरक्षित भइन्छ भन्ने बारेमा सबैलाई बुझाउनुपर्ने, दबाब र प्रभावले दाबी भुक्तानी पाउने अवस्था आउन नहुने, बीमालेख जारी गर्दा गलत कुरालाई प्रोत्साहन गर्न नहुने र बीमालाई बाध्यकारी नभई विश्वसनीय बताउनुपर्ने बताउनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इञ्जिनीयरिङ बीमा अन्तरगत देखिएका समस्याहरूको समाधानका लागि सम्बद्ध सरकारी निकाय, बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो ।
इञ्जिनीयरिङ बीमा सम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय, नियामक र संस्थाहरूसँग छलफल गरी अगाडि बढ्ने उल्लेख गर्दै उहाँले करिब ९० प्रतिशत बीमालेख नेपाली भाषामा भए तापनि बीमा गर्दा बीमालेख राम्रोसँग नपढेका कारण समस्या आउने गरेको बताउनुभयो ।
प्राधिकरणका निर्देशक निर्मल अधिकारीले म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्ने सम्बन्धमा त्यस्ता ठेक्काको सङ्ख्या कति छ, त्यसको यकिन भएपछि स्पष्ट गरिने जानकारी दिनुभयो । बीमालेख बीमितको आवश्यकता अनुसार हुनुपर्ने, बीमालेखका सेवा तथा सुविधाहरू स्पष्ट हुनुपर्ने र बीमाप्रतिको बुझाईमा एकरूपता हुनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा घोषणा गर्दा सही रूपमा गर्नुपर्ने, बीमा बेच्ने र लिनेले बीमाका प्रावधानलाई एउटै अर्थमा बुझ्नुपर्ने र स्वदेशी पुनर्बीमा कम्पनीले रक्षावरण गरे म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्न समस्या नहुने धारणा राख्नुभयो ।
यसैगरी, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सबैले बीमालाई बाध्यताका रूपमा नभई आवश्यकताका रूपमा बुझ्नुपर्ने, बीमालेखका प्रावधानहरू पढेर मात्र बीमा गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यकताका आधारमा बीमालेखका प्रावधानहरू थपिंदै गएको र बीमादरमा खासै समस्या नहेको लगायतका धारणा राख्नुभएको थियो  ।
कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरू र निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो ।
इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ