काठमाडौं । रसुवामा आएको बाढीको क्षतिबाट विभिन्न बीमा कम्पनीहरुमा २९ करोड रुपियाँ नजिक बीमा दाबी परेको छ ।
रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपियाँ बराबर रहेको छ ।
गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढी पहिरो व्यापाक मात्रामा क्षति पु¥याएको थियो । बाढीले धेरै घर, गाडी, पसल लगायतका अन्य भौतिक संरचनाहरु बगाएको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात निर्जीवन बिमा कम्पनीमा उक्त रकम बराबरको दाबी परेको हो । दाबी पर्नेमा सर्वाधिक शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपियाँ बराबरको १० वटा दाबी परेको छ ।
यस्तै नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपियाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपियाँ बराबरको सात वटा दाबी परेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपियाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपियाँ बराबरको छ वटा, आइजीआई प्ररूडेन्सियलमा ७५ लाख ५० हजार रुपियाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरको सात वटा बीमा दाबी परेको छ ।
प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।
प्राधिकरणका अनुसार बाढीले निजी तथा सार्वजनिक मोटरमा ठूलो संख्यामा क्षति पु¥याएको देखिन्छ । मोटर बीमा अन्तरगत कुल ४३ वटा दाबी पेश भएको छ । सार्वजनिक मोटर बीमा अन्तरगत दुई करोड ३१ लाख ५० हजार र निजी तर्फ एक करोड १७ लाख ५० हजार रुपियाँ बराबरको दाबी पेश भएको छ ।
रकमको आधारमा भने सामुन्द्रिक बीमा अन्तरगत १५ करोड ७० लाख १० हजार रुपियाँ बराबरको छ वटा दाबी पेश भएको छ । प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा पाँच करोड ५५ लाख, सम्पत्ति बीमामा चार करोड १८ लाख ५० हजार रुपैयाँ बराबरको १० वटा बीमा दावी पेश भएका छन् ।
साझा अर्थ संवाददाता