पात्रो

रेडियो

समाचार खोजी

बन्दिपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि खुल्ने

आयोजना प्रभावित र विदेशमा रहेका नेपालीका लागि प्राथमिक चरणमा सेयर निष्कासन हुने

साझा अर्थ संवाददाता ३० असार २०८२, सोमवार

काठमाडौं, असार ३० – बन्दिपुर केवलकार एन्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीयबासी र विदेशमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै साउन ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मार्फत सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता सेयर र विदेशमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता सेयर जारी गर्न लागेको हो।

स्थानीयहरूको लागि आईपीओ साउन ६ देखि साउन २० गतेसम्म खुला रहनेछ, र पूर्ण आवेदन नपरेमा भदौ ४ गतेसम्म लम्बिन सक्छ। विदेशमा कार्यरत नेपालीका लागि भने आवेदन साउन ६ देखि साउन ९ गतेसम्म खुला हुनेछ, र आवश्यकता अनुसार भदौ २० गतेसम्म लम्बिन सक्नेछ।  कम्पनीको कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ, जसको २०.७०६७% अर्थात् ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ। यसमध्ये २% परियोजना प्रभावितलाई र बाँकी १८.७०६७% सर्वसाधारणका लागि छुट्याइएको छ।

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड निष्कासन प्रबन्धकका रूपमा रहेको छ भने, केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘CARE-NP BB (Is)’ र ‘CARE-NP BB’ को रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ। बन्दिपुर केवलकारले तनहुँको बन्दिपुरमा केवलकार तथा होटल सेवा सञ्चालन गर्ने परियोजना अगाडि बढाएको छ, जुन राष्ट्रिय योजना आयोगद्वारा “राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना” को रूपमा सूचीकृत रहेको छ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता