काठमाडौंः चालु आर्थिक वर्षको ११ महिनामा बाणिज्य बैंकहरुले करिब ५४ अर्ब नाफा आर्जन गरेका छन् । उनीहरुले सो अवधिमा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
नेपाल राष्ट्रबैकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको नाफा गत आवको सोही अवधिको भन्दा ४.९७ प्रतिशतले कम भएको हो ।
हाल सञ्चालनमा रहेका ९ वटा बैंकको मुनाफा गत आवको तुलनामा बृद्धि भएको छ भने ११ बैंकको नाफा घटेको राष्ट्रबैंकको भनाई रहेको छ ।
सामिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नविलले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा नाफा कमाउने बैंक बन सफल भएको छ । त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड, एभरेष्टले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एनएमबीले ३ अर्ब ३ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ७२ करोड, लक्ष्मी सनराइजले २ अर्ब ५७ करोड, प्रभु बैंकले २ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड तथा सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
यस्तै कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआइसी एशियाले ८२ करोड ९७ लाख तथा कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।
समिक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले १८५.२७ प्रतिशतले नाफा बृद्धि गरेको छ । यस्तै सबैभन्दा नाफा घट्ने बैंकमा भने कुमारी बैंक रहेको छ । बैंकको नाफा ७७.८४ प्रतिशतले घटेको पाइएको छ ।
साझा अर्थ संवाददाता