काठमाडौःहिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको छ।
कम्पनीले गत जेठ ९ गते प्रति शेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
जसमध्ये जारीपूँजीको ५ प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ८६ हजार ५ सय कित्ता ओखलढुङ्गा जिल्ला, खिजीदेम्बा गापा वडा न ८ साविक भुसिङ्गा गाविस वा सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गापा वडा न। २ साविक गोली गाविस वडा न.१,२,३,४,५ का स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको शेयरको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ९३ हजार २५० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि गत जेठ ३० गतेदेखि असार १३ गतेसम्म जारी गरिएको थियो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
साझा अर्थ संवाददाता